• १५ वैशाख २०८१, शनिबार

बाढी र डुबान क्षेत्रको मन्त्री राईद्वारा निरीक्षण

blog

सिराज खान

नेपालगञ्ज , असोज २० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिायाक राईले बाँकेका केही बाढी र डुबान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण जिल्लाको डुडुवा गाउँपालिकाका केही गाउँमा राप्ती नदीको बाढी पसेको र केही ठाउँमा डुडुवा खोलाले डुबान गरेकोले मन्त्री राईले निरीक्षण गरेर अवस्था बुझ्नु भएको हो ।

मन्त्री राईले टेपरी गाउँ, पिप्रहवा र चौफेरी नजिक पुगेर ती ठाउँ लगायत राप्ती नदी र डुडुवा खोलाको अवस्था निरीक्षण गर्नुभयो । सो अवसरमा उहाँले स्थानीय बासिन्दासँग भेटघाट गरेर सचेत रहन आग्रह गर्दै डुबान बढेमा सुरक्षित स्थानमा सारिने बताउनुभयो ।

सो अवसरमा मन्त्री राईले  कुनै पनि समस्या परेमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कृषि चौफेरी र पाँजा गाउँमा बाढी  पसेको र त्यहाँ पुग्ने बाटो समेत अवरुद्ध भएकोले सो स्थानमा मन्त्रीको टोली पुग्न नसकेको जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।

राप्ती नदीको बाढीले  नदी वरिपरिका क्षेत्रमा डुबान भएको जानकारी आइरहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सो बारेमा सतर्कता अपनाउनुका साथै जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा लग्ने काम भइरहेको जनाएको छ।