• ११ मंसिर २०८१, मङ्गलबार

बाँकेको नरैनापुर आसपास क्षेत्र जलमग्न, जनजीवन प्रभावित

blog

तस्बिर : नरैनापुर गाउँपालिकाका अध्यक्षको सचिवालय ।

गोरखपात्र अनलाइन

बाँके, असोज २० गते । बुधबारदेखिको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ । मुख्यगरी नरैनापुरको १ बनिया गाउँ, वडा ४ को घोडदौरिया, वडा ५ को जमुनहा, वडा ६ को दोँदरा क्षेत्रमा रहेका घरमा पानी पसेपछि जनजीवन प्रभावित बनेको छ । सो क्षेत्रका स्थानीय जनप्रतिनिधिहरूले स्थलगत अनुगमन गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष साहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरू जलमग्न हुनुका साथै दर्जनौँ बढी घरमा पानी पसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ, तथ्याङ्क सकंलन गर्न वडा अध्यक्षसहित आफू टोलको अनुगमन गर्न आएका छौँ ।”


वडा नं. ४ का अध्यक्ष मनोज शर्माले भन्नुभयो, “घोडदौरीया गाउँमा १० वटा घरमा क्षति पुगेको छ, निरन्तर परिरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेको छ, सचेत हुन स्थानीयहरूलाई अपिल गरेका छौँ ।” 

त्यसैगरी नरैनापुरको वडा ६ का अध्यक्ष प्रेम मौर्यले खोलाको पानी स्थानीयको घरमा पसेको बताउनुभयो । समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरवासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तीमा पस्न थालेपछि थप समस्या भएको उहाँले गुनासो गर्नुभयो ।


घरभित्र पानी पसेपछि स्थानीयहरूलाई सामान सार्न समस्या भएको छ । स्थानीयले घरदेखि माथि पाल टाँगेर बस्ने व्यवस्था मिलाइरहेका छन् । घरभित्र पानी पसेपछि घरदेखि माथि चौरमा पाल टाँगेर बस्नुपरेको स्थानीय लियाकत साईले बताउनुभयो । 

नरैनापुर गाउँपालिका अध्यक्ष साहले निरन्तर पानी परिरहेकाले सचेत हुन आग्रह गर्दै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बाढी प्रभावित क्षेत्रमा पुगिसकेको जानकारी दिनुभयो ।