मकवानपुर, असोज २० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् ।
चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो ।
गम्भीर घाइतेको तीन जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।