• ११ मंसिर २०८१, मङ्गलबार

नेपालका क्यान्डिडेट मास्टर थापाको अपराजित यात्रा कायम

blog

एसियन एमेच्योर चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपालका कृष्ण थापा । तस्बिर : नेपाल बुद्धिचाल सङ्घ

काठमाडौं, असोज १७ गते । नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रा कायम राख्नुभएको छ । आइतबार भएको पाँचौँ चरणको खेलको समाप्तिसँगै थापाले ४.५ अङ्क जोड्दै आफूलाई लयमा राख्नुभएको हो । 

साबिक विजेतासमेत रहनुभएका थापाले चौथो चरणको खेलमा भारतीय खेलाडी मधुसूदन केआरसँग बराबरी खेल्नुभएको थियो । पाँचौँ चरणको खेलमा उहाँले प्रतियोगिताकै दोस्रो वरीयताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्नुभयो ।

च्याम्पियन सीमा थापाले सोमबार हुने छैटौँ चरणको खेलमा इरानका महमुदी एम सदेगसँग प्रतिस्पर्धा गर्नुहुनेछ । पाँचौँ चरणको समाप्तिसँगै अहिले इरानका दुई खेलाडी फुलाडी बेहरुज र जमती सोभन पाँच पाँच अङ्कसहित शीर्षस्थानमा हुनुहुन्छ ।

नेपालका थापासँगै इरानकै महमुदी र पाकिस्तानका जुनाइद सोहिल समान ४.५ अङ्कका साथ संयुक्त दोस्रो स्थानमा हुनुहुन्छ । अक्टोबर ५ तारिखसम्म चल्ने च्याम्पियनसिपका खेलहरू नवौँ चरणसम्म चल्नेछ । च्याम्पियनसिपमा एसियाका २० देशका एक सय ४६ खेलाडीको सहभागिता छ ।