• ८ वैशाख २०८१, शनिबार

एउटै कोठामा पाँचवटा कक्षा

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज १७ गते । विद्यार्थी सङ्ख्या अत्यन्त न्यून रहेको सर्लाहीको लालबन्दी नगरपालिका–१३, नारायणडाँडास्थित प्राथमिक विद्यालयले सम्पूर्ण विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गराउँदै आएको छ । विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म ५७ जना विद्यार्थी भर्ना भए पनि नियमित विद्यालय आउने विद्यार्थी भने २० देखि २५ जना मात्रै हुन्छन् । विद्यालयको बालविकासमा पाँच जना, कक्षा १ मा पाँच जना, कक्षा २ मा १२ जना, कक्षा ३ मा १३ जना, कक्षा ४ मा १२ जना र कक्षा ५ मा १० जना विद्यार्थी भर्ना भएका छन् । 

नगरपालिकाकै दुर्गम चुरेभेगको नारायणडाँडामा रहेको यस विद्यालयमा नारायणडाँडा र छिमेकी गाउँ कर्मकाण्डीका बालबालिका अध्ययन गर्न आउने गरेका छन् । विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर विश्वकर्माले कक्षागत रूपमा विद्यार्थी भर्ना सङ्ख्या न्यून रहेको र त्यसमा पनि नियमित विद्यालय आउने विद्यार्थी थोरै रहेकाले सबैलाई एउटै कोठामा राखेर पढाउने गरिएको बताउनुभयो । 

“विद्यालयमा यो वर्ष भर्ना भएका विद्यार्थी ५७ जना छन्, त्यसमध्ये नियमित विद्यार्थी २०÷३५ जना मात्रै हुन्छन्” प्रधानाध्यापक विश्वकर्माले भन्नुभयो, “विद्यार्थी नै थोरै भएकाले सबैलाई एकै ठाउँमा राखेर पढाउने गरेका हौँ ।” विद्यालयमा प्रधानाध्यापक विश्वकर्माको मात्रै दरबन्दी छ । 

बालविकासमा कृष्णकुमारी सिञ्जाली, निजी स्रोतमा स्वयंसेवक शिक्षक सुरुचि रखाल र कार्यालय सहयोगी ढलककुमारी रखाल कार्यरत हुनुहुन्छ । प्रधानाध्यापक विश्वकर्माले अधिकांश विपन्न र अशिक्षित अभिभावकको बसोबास रहेको क्षेत्रमा विद्यालय सञ्चालनमा निकै समस्या रहेको बताउनुभयो । 

“ठाउँ विकट छ, त्यसमाथि अधिकांश अभिभावक अशिक्षित हुनुहुन्छ, त्यसले हामीलाई पनि समस्या भइरहेको छ,” प्रधानाध्यापक विश्वकर्माले भन्नुभयो, “सबै बालबालिका विद्यालय भर्ना हुन आएका छैनन्, भर्ना भएका पनि नियमित विद्यालय आउँदैनन् ।” गाउँमा कक्षा ५ सम्म अध्ययन गरेपछि बालबालिकाले माथिल्लो कक्षा पढ्दैनन् । कक्षा ५ भन्दा माथिको कक्षा पढ्न पत्थरकोट वा जियाजोरसम्म झर्नुपर्छ । नारायण डाँडाको सो प्राथमिक विद्यालयमा चारकोठे दुई वटा भवन छन् । अहिले एउटा कोठामा पठनपाठन र अर्को कोठाबाट कार्यालय सञ्चालन भइरहेको छ । विद्यार्थी नै नभएका कारण एउटा भवन त प्रयोग नै भएको छैन । 

लालबन्दी नगरपालिका–१२ का वडाध्यक्ष शिवकृष्ण वैद्यले विद्यार्थी नै नरहेकाले यो विद्यालय सञ्चालन गर्नै समस्या रहेको बताउनुभयो । “विद्यालयमा पक्की भवन छ, वडाबाट स्वयंसेवक शिक्षकसमेत राखेका छौँ तर विद्यालयमा विद्यार्थी नै छैनन्” वडाध्यक्ष वैद्यले गोरखापत्रसँग भन्नुभयो, “त्यो विद्यालयलाई अन्यत्र गाभ्दा त्यहाँका बालबालिकाले पढ्नै नपाउने अवस्था छ । विद्यालय सञ्चालन गरिराख्दा विद्यार्थी नै छैनन् ।” 

वडाध्यक्ष वैद्यले अभिभावकसङ इँटा भट्टामा काम गर्न जाँदा छोराछोरीलाई पनि आफूसँगै भट्टामा काम गर्न लैजाँदा विद्यालय विद्यार्थीविहीन हुन पुगेको बताउनुभयो । ठाउँको विकास भएपछि विद्यालय सञ्चालनमा सहज हुने आसमा आफूहरू रहेको वडाध्यक्ष वैद्यको भनाइ छ । 

लालबन्दी नगरपालिकाको शिक्षा शाखाका प्रमुख वासुदेव तिमल्सिनाले विद्यार्थी नै नआउँदा नारायणडाँडामा रहेको सो विद्यालय सञ्चालन गर्नै मुस्किल परेको बताउनुभएको छ । “त्यो विद्यालयलाई अन्यत्र गाभौँ न भन्दा छेउछाउमा अरू विद्यालय छैनन्, विद्यालय सञ्चालन गरिराख्दा पनि विद्यार्थी नै आउँदैनन्,” शिक्षा शाखाका प्रमुख तिमल्सिनाले भन्नुभयो, “अहिले विद्यालयमा आइरहने १०÷१५ जना विद्यार्थी पढ्न पाउने अधिकारबाट वञ्चित नहोउन् भनेरै मात्रै विद्यालय चलाइराखेका छौँ ।”

नारायणडाँडा लालबन्दी नगरपालिका–१३ को केन्द्र रहेको पत्थरकोटस्थित फेदीबाट चार किलोमिटरको दूरीमा पर्छ । चुरेको चुचुरोमा पर्ने त्यस ठाउँमा गोरेटो सडक पुगेको छ । हिउँदमा पत्थरकोटदेखि नारायणडाँडासम्म मोटरसाइकल र ट्याक्टर चल्ने गरेका छन् । बर्खायाममा भने कुनै गाडी नचल्ने भएकाले त्यहाँसम्म पुग्न पत्थरकोटबाट एकदेखि डेढ घण्टासम्म पैदल हिँडेर जानुपर्छ ।