काठमाडौं, असोज १३ गते । डेंगु फैलाउन लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने कीटनाशक औषधि नेपालमा भित्रिएको छ । भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम नामक कीटनाशक औषधि सफल स्वास्थ्य सेवा प्रालिले नेपाल भित्र्याएको हो ।
उत्पादक कम्पनी अजय बायोटेकका नेपाल प्रतिनिधि रुनाल तामाङले नेपालमा औषधि ल्याएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सङ्कलन गरिएका लार्भामा प्रयोग गर्दा सफल परीक्षण भएको बताउनुभयो ।
उक्त औषधि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अमेरिकाले मान्यता दिएको छ । साथै यो औषधि नेपालमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले आयात तथा प्रयोग अनुमति (लाइसेन्स) दिएको छ ।
यो औषधि भारत, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्डलगायत लामखुट्टे बढी हुने मुलुकमा यसको प्रयोग भइसकेको छ ।
उक्त औषधि धुलो र झोलमा उपलब्ध छ । १ लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडाट एम मिलाए एक हेक्टर क्षेत्रफलमा ७.५ किलोग्राम छर्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक अच्युत अधिकारीले यो औषधि ३० वर्षपहिले मरेको लामखुट्टेका लार्भाबाट निकालेर यसको विकास गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एकैपटक धेरै लामखुट्टेको लार्भा मरेको पाइएपछि तिनलाई मार्ने कीटाणुलाई निकालेर बायो लार्भिसाइडको विकास गरिएको हो ।
उहाँले भन्नुभयो, यो औषधि पानीको सतहमा छरेपछि यो कीटाणुलाई लामखुट्टेको लार्भाले खान्छन् । लार्भाले यो पचाउन सक्दैन। त्यसपछि लार्भालाई पक्षघात हुन्छ । २४ देखि ७२ घण्टाभित्र लार्भाको मृत्यु हुन्छ । लार्भाले यो पचाउने कोसिस गर्छ तर यसबाट उत्पाद हुने टक्सिनलाई लामखुट्टेको लार्भाले पचाउन सक्दैन । त्यस कारण लार्भाको मृत्यु हुन्छ ।
यो जैविक भएकाले अन्य लामखुट्टे नष्ट गर्ने विषादीले जस्तो मान्छे या अरु जनावरलाई असर नगर्ने अधिकारीको दाबी छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. जिडी ठाकुर महामारीको रुप लिँदै गएको डेंगु फैलाउने स्रोत नष्ट गर्नका लागि यो औषधि उपयुक्त हुने बताउनुभयो ।
महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले फैलिरहेको डेंगु नियन्त्रणका लागि संवेदनशील नभएको आरोप लगाउनुभयो । उहाँले बायोडाट एम नामक यो विषादी सरकारले लिएर जोखिमयुक्त ठाँउमा छर्कन सुझाव दिनुभयो । यो औषधी १५ दिनको फरकमा प्रयोग गर्न सकिने उत्पादक कम्पनीको दाबी छ ।