• १६ चैत २०८०, शुक्रबार

आधारभूत स्वास्थ्य निःशुल्क : मन्त्री खापुङ

blog

चितवन समाचारदाता

चितवन, असोज ११ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवालाई सबै स्थानमा निःशुल्क उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। 

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिक उत्सव कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले समस्या भएका स्थानमा समाधान गर्दै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था नरहने बताउनुभयो। 

“सरकारले ७८ प्रकारका औषधि जनतालाई निःशुल्क उपलब्ध गराएको छ। तीनै तहका स्वास्थ्य संस्थाबाट यो सेवा उपलब्ध भइरहेको छ,” उहाँले भन्नुभयो। अहिले नेपाललगायत विश्वभरि नसर्ने रोगबाट नागरिक प्रभावित भएका भन्दै उहाँले नसर्ने रोगका कारण उपचारमा लाखौँ रुपियाँ खर्च गर्दा हरेक वर्ष त्यस्ता बिरामीका परिवार गरिबीको रेखामुनि पुगेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। जटिल प्रकारका आठवटा रोगका लागि प्रतिव्यक्ति कम्तीमा एक लाख रुपियाँ राहतस्वरूप उपचार खर्च सरकारले दिँदै आएको उहाँले बताउनुभयो। 

स्वास्थ्य बीमाको रकम अस्पतालले नपाएको र सेवा सञ्चालन गर्न नसकिने भन्ने अस्पतालका प्रमुखको गुनासोको विषयमा मन्त्रालय जानकार भएको बताउँदै उहाँले बीमाको रकम ढिलो भए पनि अस्पतालले प्राप्त गर्नेमा ढुक्क हुन आग्रहसहित जनतालाई सेवासुविधा दिन अनुरोध गर्नुभयो। उहाँले क्यान्सर रोग भए नभएको पत्ता लगाउन आवश्यक पर्ने पेट स्क्यान मेसिन सरकारले खरिद गरेर क्यान्सर अस्पताललाई छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले चितवन शिक्षा र स्वास्थ्यका लागि जनताको पायक पर्ने स्थान र चिकित्सकको उपलब्धता सबै दृष्टिले उत्तम क्षेत्र भएकाले यहाँको विकासमा सरकारले योजनाबद्ध रूपमा कार्यक्रम ल्याउने जानकारी दिनुभयो। उहाँले क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न आवश्यक रहेको बताउँदै शैक्षिक अस्पतालका रूपमा विकास गर्न सकेमा स्वास्थ्यमा आवश्यक पर्ने जनशक्ति उत्पादन हुने बताउनुभयो। कार्यक्रममा नेकपा (एमाले)का जिल्ला उपाध्यक्ष कमलराज पाठक, नेपाली काँग्रेसका सभापति राजेश्वर खनाल, नेकपा (माओवादी केन्द्र)का संयोजक रामचन्द्र अधिकारीले जनताको गुनासो नआउने गरी अस्पताल प्रशासनले काम गर्नुपर्नेमा जोड दिनुभयो। 

कार्यक्रममा क्यान्सर अस्पतालमा बिरामी कुरुवाघर निर्माण गर्न ४५ लाख रुपियाँ सहयोग गर्नुभएका समाजसेवी भीमप्रसाद पाठक, अस्पतालका कर्मचारी र चिकित्सकलाई सम्मान गरिएको थियो। क्यान्सर अस्पताल अहिले पाँच सय शय्यामा सञ्चालन छ।