• १३ वैशाख २०८१, बिहिबार

बुढासुब्बा मन्दिरको पुनर्निर्माण गरिँदै

blog

निशा राई 

धरान, असोज १० गते । बुढासुब्बा मन्दिरको महत्त्व र ऐतिहासिकता झल्काउन कलात्मक काठको खम्बासहितको थप संरचना निर्माणको काम थालिएको छ । धरान उपमहानगरपालिकामा रहेको बुढासुब्बा मन्दिरको नेपाल सरकारको पुरातात्त्विक विभागको आर्थिक सहयोगमा मन्दिरको संरचना निर्माण गर्न लागिएको हो ।

बुढासुब्बाकाे ऐतिहासिकतालाई जोगाउन कंक्रिटको खम्बालाई विस्थापित गरी काठको कलात्मक ढङ्गको संरचना निर्माण गरिन लागेको छ । धार्मिक पर्यटकीयस्थल धरानको बुढासुब्बा मन्दिरको आफ्नै अस्तित्व छ । 

नेपालमा कहीँ पनि नपाइने टुप्पोविनाको बाँस यहाँ पाइन्छ । बाँसमा प्रेमी प्रेमिकाहरूको नाम लेखेमा नछुटिने विश्वास गरिन्छ । वैशाख पूर्णिमाका बेला मात्र बाँसलाई छुइन्छ र लडेको, मर्केको बाँसलाई उठाइन्छ । बाँसको टुक्राहरू घरमा लगेर राखेमा शुभ हुने जनविश्वास रहेको स्थानीयको भनाइ छ ।

बुढासुब्बा मन्दिरमा कंक्रिटको खम्बा २०६० को दशकमा निर्माण गरिएको थियो । मन्दिरका पुजारी उत्तम आलेमगरका अनुसार २०५५ देखि २०६० तिर मन्दिरको जीर्णोद्धार गर्ने क्रममा बलियो हुने र संरक्षण गर्न कंक्रिटका पिल्लरहरू बनाइएका थिए । सो अघि पनि मन्दिरमा काठका खम्बाहरू राखिएका थिए ।

पुरातात्त्विक विभागले नेपालका सम्पदालाई मूल रूपमै ल्याउन पुनर्निर्माणको काम गरिरहेको छ । पुरातात्त्विक विभागले पछिल्लो चार वर्ष यता बुढासुब्बा मन्दिरलाई ऐतिहासिकता प्रदान गर्न बजेट विनियोजन गर्दैआएको छ । पुजारी मगरका अनुसार मन्दिर तिहारसम्ममा निर्माणको काम सकिनेछ ।