• १३ साउन २०८१, आइतबार

खर्च विवरण नबुझाउनेलाई कारबाही सिफारिस

blog

नवीनशिशिर विक

बागलुङ, असोज १० गते । स्थानीय तह निर्वाचन–२०७९ मा खर्च विवरण नबुझाउने बागलुङका आठ सय ११ जना उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गरिएको छ। निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने व्यवस्थालाई बेवास्ता गर्ने उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालय बागलुङले जरिवाना गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो। 

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तह रहेको बागलुङमा २७९ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ। बागलुङमा चार नगरपालिकामा प्रमुख र उपप्रमुख पदका १९ जना र छ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका २६ जनाले निर्वाचनको खर्च विवरण समयमा बुझाएका छैनन्। यस्तै वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवार बनेका नगरपालिकाका ४०७ जना र गाउँपालिकाका ५९ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले बताउनुभयो। 

खर्च विवरण नबुझाउनेमा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठसहित प्रमुख पदका उम्मेदवार सुरज खड्का, मञ्जुमाया क्षेत्री र नीलप्रसाद आचार्य, उपप्रमुख पदका उम्मेदवार राजु खड्का, सञ्जय खड्का, ताराकुमारी रिजाल र जीवन आचार्य रहनुभएको छ। 

गलकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार पूर्णबहादुर काउचा, मञ्जु शर्मा, डम्मरबहादुर केसी र दीपेन्द्र साहानी, उपप्रमुख पदक उम्मेदवार रूपा विक, जैमिनी नगरपालिकाका प्रमुख पदका उम्मेदवार काशीराम आचार्य, निर्मला बानियाँ क्षेत्री सापकोटा र उपप्रमुख पदका उम्मेदवार चीना केसी रहनुभएको छ। ढोरपाटन नगरपालिकाका प्रमुख पदका उम्मेदवार नीमबहादुर भण्डारी, श्याम घर्तीमगर, उपप्रमुख पदका उम्मेदवार ताराकुमारी पुनले पनि चुनावी खर्च विवरण बुझाउनुभएको छैन।

गाउँपालिकातर्फ काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार डिलबहादुर कार्की, उपाध्यक्ष पदका उम्मेदवार कोपिलाकुमारी पुन, मिलन थापा, तमानखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार देवबहादुर पुन, हिमाल खत्री, ओमप्रसाद पुन, उपाध्यक्ष पदका उम्मेदवार निशु रसाइली, गीता घर्तीमगर र तारानाथ सिर्पाली, ताराखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश घर्तीमगर, ऋषिराम रोका, यामबहादुर रोका र उपाध्यक्ष पदका उम्मेदवार थममाया घर्तीले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी शर्माले बताउनुभयो। 

निसीखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अञ्चल शाही, कृष्णबहादुर मल्ल, उपाध्यक्ष पदका उम्मेदवार प्रेमबहादुर घर्तीमगर, भोटु चन्द, शान्ताकुमारी सेन र जुनविक्रम शाही, बडिगाड गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार राजनकुमार पाइजा, मनप्रसाद घर्ती, उपाध्यक्ष पदका उम्मेदवार मिनकुमारी माझी, डिलकुमारी क्षेत्री, बरेङ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रदीप थापामगर र उपाध्यक्ष पदका उम्मेदवार दुर्गा कार्की थापाक्षेत्रीले खर्च विवरण बुझाउन बाँकी छ। 

विवरण पेस नगर्नेले खर्च गर्ने सीमा क्षेत्र बराबरको जरिवान तिर्नुुपर्ने जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी शर्माले बताउनुभयो। उहाँले निर्वाचन आयोगले खर्च विवरण नबुझाउने नगरपालिकाका प्रमुख र उपप्रमुखलाई चार लाख ५० हजार रुपियाँ, नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यलाई दुई लाख रुपियाँ, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई तीन लाख ५० हजार रुपियाँँ र वडाध्यक्ष र वडा सदस्यलाई एक लाख ५० हजार रुपियाँ जरिवाना तोकेको बताउनुभयो।