नवीनराज कुइकेल
लमजुङ, वैशाख ६ गते। लममजुङ सदरमुकाम बेँसीसहरमा द्वन्द्वकालमा राखिएको बम फेला परेको छ। सडक खन्ने क्रममा जमिनमा गाडिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यलय लमजुङदेखि अगाडि एक सय मिटर तल पूर्वतर्फ सडक विस्तारका लागि जेसिवीले बाटो खन्ने क्रममा जमिनमा गाडिएको अवस्थामा पाइप बम फेला परेको हो।
अन्दाजी तीन फिट लामो करिब दुई इन्च गोलाइको जिआई पाइपमा दुई वटा तार जडित शङ्कास्पद वस्तु फेला परेको र अनुसन्धान गर्दा पाइप बम रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले बताउनुभयो।
शुक्रबार साँझ फेला परेको बम डिस्पोेजको लागि बेँसीसहर–८ मलामीचौरको मझुवाखोला र मर्स्याङ्दी नदीको किनारमा लगिए पनि अँध्यारोका कारण उक्त वस्तुलाई त्यही सुरक्षित राखिएको थियो।
शनिबार बिहान चण्डीप्रसाद गण उदिपुरबाट आएको बम डिस्पोजल टोलीले पाइप बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
सो पाइप बम निकै पुरानो रहेकोले द्वन्द्वकालको समयमा नै गाडिएको हुनसक्ने प्रहरी नायब उपरीक्षक रमेश बोहोराले बताउनुभयो।