गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ११ गते । कतारमा सोमबार राति भएको घटनाक्रमले खाडीका छ देशमा कार्यरत नेपाली श्रमिक र नेपालमा रहेका ती श्रमिकका परिवार र आफन्त त्रसित भएका छन् । अमेरिकाले दुई दिनअघि इरानका आणविक केन्द्रमाथि गरेको आक्रमणको जवाफस्वरूप इरानले सोमबार साँझ दोहास्थित अमेरिकी सैन्य आधारमा मिसाइल प्रक्षेपण गरेसँगै मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिक र तिनीहरूको परिवारमा त्रास फैलिएको हो ।
मध्यपूर्वका देश (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, ओमान, कुवेत, बहराइन) मा गरी १० लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन् । सोमबारको घटनाले ती देशमा काम गर्ने सबै श्रमिक त्रसित भएका छन् । इजरायल र इरानबिच युद्धविराम भएको भनिए पनि त्यसको पालना नभएको अवस्था छ । नेपाल वैदेशिक रोजगार सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले कतारमा हिजो भएको घटना सामान्य भएको भनिए पनि आमश्रमिकमा त्रास कम नभएको बताउनुभयो । अमेरिकी सैन्य शिविर खाडी क्षेत्रका प्रायः सबैमा देशमा रहेकाले सबैमा आक्रमण हुन सक्ने खतरा रहेको उहाँको भनाइ छ ।
सचेत र शान्त भएर बस्न आग्रह
कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । कतारमा रहेका नेपाली नागरिकलाई शान्त भएर बस्न र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न दूतावासले अनुरोध गरेको छ । कतारमा मात्रै झन्डै साढे तीन लाख नेपाली कार्यरत छन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भने कतारको अवस्था सामान्य भएकाले श्रम स्वीकृतिको काम नियमित भइरहेको जानकारी दिनुभयो । अर्को सूचना नआउँदासम्म श्रम स्वीकृतिका नियमित काम नरोकिने उहाँको भनाइ छ ।
उड्न थाले अलपत्र यात्रु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उडेका छन् । कतारमा सामान्य भएको सूचना आएसँगै मङ्गलबार रातिसम्म कतारको दोहा चार उडान भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार सोमबार राति दोहा उड्न लागेका नेपाल एयरलाइन्सको एउटा र हिमालय एयरलाइन्सका तीन वटा उडान रद्द हुँदा आठ सयभन्दा बढी यात्रु अलपत्र परेका थिए । फ्लाई दुबई एयरलाइन्सको उडान भने उसकैको प्राविधिक समस्या भएका कारण उडान रद्द भएको थियो । यस्तै सोमबार साझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेकामा मङ्गलबार दोहामा अवतरण भएको छ ।
कतारबाट काठमाडौँ आउने विमानको उडान बिहानसम्म रद्द भए पनि अहिले भने सामान्य भइसकेको विमानस्थल कार्यालयले जनाएको छ । सोमबार रद्द भएका उडानमा अधिकांश वैदेशिक रोजगारीका लागि जान लागेका श्रमिक रहेका थिए । नेपालका तीनसहित ३० वायुसेवाप्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।