टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख ७ गते । ढुङ्गाकै गारो, ढुङ्गाकै छानो । कमेरो र रातो माटोले पोतिएको गाउँकै पुरानो घरको झल्को दिन्छ भार्से जनसहयोग माध्यमिक विद्यालयले । विद्यालय भवनसहित छात्रावास, अतिथिगृहलगायतका पुराना संरचना पनि थिए तर ती संरचना समयसँगै भत्किएर गए ।
गुल्मीको सत्यवती गाउँपालिका–८ को भार्से जनसहयोग माविसँग ७५ वर्षको गर्विलो इतिहास छ । सोही अवसरमा भर्खरै हीरक महोत्सव मनायो विद्यालयले । जिल्लाका सबैभन्दा पुराना माविमध्ये भार्से जनसहयोग मावि एक हो तर समयसँगै गाउँ गाउँमा खुलेका विद्यालय र तीव्र बसाइँसराइका कारण भार्से जनसहयोग माविलाई विद्यार्थी टिकाउन ठुलो चुनौती देखिएको छ । कुनै समय आठ/नौ सय विद्यार्थीले खचाखच भार्से जनसहयोग माविलाई अहिले एक सय विद्यार्थी टिकाउन मुस्किल रहेको भार्सेका अगुवा बोमबहादुर श्रीसले बताउनुभयो ।
गाउँमा न्यून आयस्रोत भएका व्यक्ति मात्रै बस्ने र कक्षा ५ पढिसकेपछि सहर झर्ने प्रवृत्तिले अबका केही वर्षमा विद्यालय खाली हुने जोखिम रहेको भार्से जनसहयोग माविका प्रधानाध्यापक लोकहरि पाण्डेय बताउनुहुन्छ । बर्सेनि पाँच/सात घर बसाइँ सरेर जाँदा विद्यार्थी सङ्ख्या घटिरहेको छ । विद्यार्थी थपिने गाउँ वा विद्यालय नजिक छैनन् । गाउँकै अभिभावक टिकाउने र विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन नगरे विद्यार्थी रोक्न नसकिनेमा प्रधानाध्यापक पाण्डेय विश्वस्त हुनुहुन्छ ।
भार्सेमा अनौपचारिक रूपमा विसं १९८६ मै पढाइ सुरु भए पनि औपचारिक रूपमा भने विसं २००८ मा भार्से जनसहयोग मावि स्थापना भएको हो । विसं २०१८ बाट माध्यमिक विद्यालयकै रूपमा पठनपाठन सुरु भएको यस विद्यालयसँगै जन्मिएका कैयन् भार्सेली अहिले छैनन् तर भार्से जनसहयोग मावि ७५ वर्षसम्म इतिहासको साक्षी बनेको छ । तत्कालीन समयमा गुल्मी पश्चिममा भार्से जनसहयोग मावि मात्रै भएकाले १० गाविस र बागलुङका विद्यार्थीले अध्ययन गर्ने गरेको भार्सेका अगुवा बोमबहादुर श्रीसले बताउनुभयो ।
हीरक महोत्सवमा विद्यालयकै शैक्षिक गुणस्तर राम्रो बनाउन आर्थिक अभियान सञ्चालन गरेकाले अहिलेसम्म ३५ लाख रुपियाँ सङ्कलन भएको प्रधानाध्यापक पाण्डेयले बताउनुभयो । अहिले विद्यालयमा १८ जना शिक्षक तथा कर्मचारी र १२० जना विद्यार्थी मात्र छन् ।