• १३ साउन २०८१, आइतबार

यात्रु सहायता कक्ष स्थापना

blog

पर्वत समाचारदाता

पर्वत, असोज १० गते । चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला ट्राफिक कार्यालय पर्वतले सदरमुकाम कुश्माको शिवालय चोकमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ। 

जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यातायातका साधनको सबैभन्दा बढी जमघट हुने शिवालय चोकमा ‘सहायता कक्ष’ स्थापना गरिएको हो।

चाडबाडको समयमा भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन २४ घण्टे सहायता कक्षको स्थापना गरिएको निउरेले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले प्रहरी खटाएर यात्रुका गुनासोको सुनुवाइ गरिनेछ। साथै मध्यपहाडी लोकमार्ग हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट बाहिरिने तथा भित्रिने सवारीको निगरानी र अनुगमन गरिने उहाँले बताउनुभयो। 

“जिल्ला प्रहरी कार्यालय वा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर वा ड्युटीमा रहेका प्रहरीलाई भेटेर यात्राको बारेमा गुनासो गरेका सबैको समस्या समाधानको प्रयास यही डेस्कबाट हुनेछ। यात्रुले यात्राका क्रममा भोगेका कुनै पनि समस्याहरू भएमा सिधै कक्षमा बताउन सक्नुहुनेछ,” ट्राफिक प्रहरी प्रमुख निउरेले भन्नुभयो। 

बागलुङ, म्याग्दी र मुस्ताङ जानका लागि सबैभन्दा व्यस्त नाका पर्वत नै भएकाले पनि पर्वतको यात्रु सहायता कक्षले यातायात व्यवसायी र यात्रु सबैको समस्या समाधानका लागि महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो। यात्रुको चाप सामान्य रहेको बेलामा त्यति धेरै समस्या नआउने भए पनि चाडबाडका बेलामा समस्या आउन सक्ने भएकाले कुश्मामा रहेको ‘यात्रु सहायता कक्ष’ छठ पर्वसम्म नै सञ्चालनमा रहने उहाँले बताउनुभयो।

सबैभन्दा बढी चाप मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकमा हुने भए पनि उक्त सडकका अन्य ठाउँमा पनि चेकजाँच हुने गरेको छ। पोखरा–बागलुङ सडकअन्तर्गत कास्कीको सिम्पानी, हेम्जा, नाउँडाँडा, नयाँपुल, पर्वतको डिमुवा, अम्बोट, कुश्मा र मालढुङ्गामा चेकजाँच हुने गरेको छ।