• ११ असोज २०८१, शुक्रबार

माओवादी केन्द्र धनकुटाका नेताद्वारा सामूहिक राजीनामा

blog

नेकपा (माओबादी केन्द्र) का नेता कार्यकर्ताहरु पत्रकार सममेलन मार्फत पार्टी छाडेको जानकारी गराउँदै । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, असोज १० गते । नेकपा (माओवादी केन्द्र) धनकुटाका सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्यहरू र जिल्ला सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन् ।

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुङ्गाना, प्रदेश समितिका १४ जना सदस्य र जिल्ला सदस्य १ सय ५० जनाले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा घोषणापछि जारी विज्ञप्तिमा भनिएको छ, “मुलुकमा गठबन्धनका कारण पार्टीहरूको अस्तित्व सकिँदै गएको छ, हामी धनकुटालाई नयाँ सोच र विचारसहित आर्थिक सामाजिक रूपमा रूपान्तरण गर्ने तयारीमा छौँ ।” 

नेपालमा ठूला भनिएका पार्टीहरू गठबन्धनका नाममा जिल्लामा आफ्नो  सङ्गठन सक्नेतर्फ उन्मुख भएको भन्दै आफूहरू स्वतन्त्र नागरिक भएर अगाडि बढ्ने माओवादी केन्द्रका निवर्तमान संयोजक कमल राईले बताउनुभयो । 

पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवम् धनकुटा संयोजक हेमराज भण्डारी (सुदर्शन) ले आफूले फरक मतसहितको दस्ताबेज बनाएर पार्टी अध्यक्षसमेत ११ दिनअघि नै राजीनामा दिएर धनकुटा फर्किएको बताउनुभयो । 

अब जिल्लामा सो अभियान सुरु भएकाले अब माओवादीमा आफूहरू नफर्किने उहाँहरूको भनाइ छ । धनकुटामा अब माओवादी पार्टी पनि नरहेको भण्डारीले बताउनुभयो । नेपालका पार्टीलाई सबक सिकाउन यो निर्णय गरेर आफूलाई पार्टीमा भिन्न मत राख्दै राजनीतिक, व्यावहारिक र असहमति जनाउँदै धनकुटाको गाउँमा राष्ट्रिय झण्डा गाड्ने योजना रहेको नेता भण्डारीले बताउनुभयो । 

भण्डारीले धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट उम्मेदवारी दिने बताउनुभयो । माओवादी केन्द्र धनकुटा नगर कमिटी सचिव खगेन्द्र विष्टका अनुसार केही नेता तथा कार्यकर्ताले हतार गरेर निर्णय गरेको बताउनुभयो । केही नेता कार्यकर्ता बाहिरिँदैमा पार्टी विघटन नहुने उहाँले बताउनुभयो ।