• १२ मंसिर २०८१, बुधबार

उच्चस्तरीय बहस जारी

blog

काठमाडौँ, असोज ९ गते ।  संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभाअन्तर्गत विभिन्न सत्रमा उच्चस्तरीय बहस जारी छ। यस क्रममा शक्तिशाली राष्ट्रहरूको समूह जी–७७ र चीन समूहको मन्त्रीस्तरीय बैठकमा नेपालले शुक्रबार राति सहभागिता जनाउने अवसर पाएको छ। सो बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालले सम्बोधन गर्ने अवसर पाउनुभएको छ। 

उहाँले कोभिड–१९ महामारी, जलवायु सङ्कट, भूराजनीतिक तनाव र आर्थिक मन्दीबाट उत्पन्न हुने विविध चुनौतीलाई मानवले सामना गर्नुपरेको औँल्याउनुभयो। उहाँले विश्वस्तरमा ऐक्यबद्धता र सहयोगको महत्वमा जोड दिँदै प्रतिबद्धता पूरा गर्न तथा विश्वव्यापी विकासलाई गति दिन सबै प्रकारका सहयोग अर्थात् उत्तर–दक्षिण, दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगको उपयोग गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “बढ्दो असमानता, खाद्यान्न तथा इन्धनको मूल्य वृद्धिका साथै आर्थिक र ऋण सङ्कटजस्ता समस्याले कमजोर राष्ट्रमा गम्भीर असर परेको छ।”

परराष्ट्र सचिव पौड्यालले यी सङ्कटबाट बाहिर निस्कन दिगो विकासको सन् २०३० एजेन्डा, पेरिस सम्झौता, अदिस अबाबा एक्सन एजेन्डालगायतका अन्तर्राष्ट्रिय मान्यताप्राप्त लक्ष्य र कार्यढाँचालाई समयमै कार्यान्वयन गर्न आह्वान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बैठकमा समूहको एकता, ऐक्यबद्धता र सहयोगको सिद्धान्तप्रति नेपालको ऐक्यबद्धता, विश्व शान्ति तथा समृद्धिका लागि नेपालको समर्थन रहेको बताउनुभयो।