• ७ जेठ २०८१, सोमबार

दूध उत्पादन पकेट क्षेत्र घोषणा गर्न माग

blog

जिल्लामै दुर्गम मानिएको नरैनापुर गाउँपालिका क्षेत्र। तस्बिर : सिराज खान।

सिराज खान 

नेपालगञ्ज, असोज ८ गते। बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाको दुईवटा वडाका अधिकांश किसानले व्यवसायीक पशुपालन गरिरहेका छन्। पालिकाको वडा नम्बर ५ र ६ का किसानले गरेको पशुपालनबाट यी दुई वडामा मात्रै करिब एक हजार लिटर दूध दैनिक उत्पादन हुन्छ। 

तर किसानले परम्परागत तरिकाले मात्रै दूध उत्पादन गर्दै आएकोले उनीहरुलाई बजारदेखि अन्य सहयोगको खाँचो रहेकोले सरकारले यी दुई वडालाई दूध पकेट क्षेत्र घोषणा गर्न उनीहरुले माग गरेका छन्।

दूध उत्पादन र बिक्रीका लागि राज्यबाट कुनै अनुदान र सुविधा नपाएको गुनासो गर्दै परम्परागत तरिकाले पशुपालन गर्दै आएका किसानलाई तालिम तथा अनुदान दिएर व्यवस्थित बनाउन आवश्यक रहेको मटेहियाका किसान हरिदास यादवले बताउनुभयो। 

उहाँले वडा नम्बर ५ र ६ का घर–घरमा ठूलो सङ्ख्यामा गाई, भैंसी पालेर दैनिक हजार लिटर जति दूध उत्पादन गरे पनि राज्यको नजर पुग्न नसकेको गुनासो गर्नुभयो।

 उहाँले पुरानै विधिबाट पशुपालन गर्दा मेहनत अनुसार आम्दानी गर्न नसकेको बताउनुभयो। मटेहिया र गङ्गापुरका किसानले वडा कार्यालयमा पशु स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग गरेका छन्। 

पशु स्वास्थ्यकर्मी नहुँदा सामान्य रोगको औषधि किन्न र उपचार गराउन भारतीय सीमावर्ती बजार जमुनाह जानुपर्ने बाध्यता मटेहियाका मायाराम यादवको दुखेसो छ।

 उहाँले यो क्षेत्रलाई दूध पकेट क्षेत्र घोषणा गरेर किसानलाई विभिन्न सहयोग र सहुलियत दिई दूधको बजार पनि सुनिश्चित गरिदिनुपर्ने माग गर्नुभयो। गाउँपालिकाले पशु स्वास्थ्यकर्मीको व्यवस्था नगरेका कारण भारतीय पशु स्वास्थ्यकर्मीको भर पर्नुपरेको अवस्था रहेको किसानहरुको भनाइ छ। 

सोही प्रकारले नरैनापुरका पशुपालक किसानले आफ्ना पशुको बीमा गराई दिन पनि स्थानीय सरकारसँग माग गरेका छन्। बीमा नहुँदा धेरै क्षति ब्यहोर्नुपरेको स्थानीय रामधन यादवले बताउनुभयो। 

उहाँले पशु स्वास्थ्यकर्मी नहुँदा पशुचौपायाले अकालमा ज्यान गुमाउने गरेको बताउँदै त्यसको असर सिङ्गो परिवारलाई पर्ने गरेको बताउनुभयो। 

नरैनापुरको ५ र ६ नम्बर वडा पशुपालनका लागि निकै प्रसिद्ध रहेकोले ती वडाका किसानका माग जायज रहेको जनाउँदै गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले त्यहाँ उत्पादन हुने दूधको बजारको व्यवस्थालगायत अन्य सहयोगका लागि दूध पकेट क्षेत्र घोषणा गर्न पहल गरिने बताउनुभयो।