• १८ असार २०८१, मङ्गलबार

राजमार्ग विस्तारमा ढिलाइ

blog

पाल्पा समाचारदाता

पाल्पा, असोज ८ गते । सिद्धार्थ राजमार्ग विस्तार कार्यमा ढिलासुस्ती भएको छ। सडक विस्तारका लागि भन्दै दुई वर्षअघि सडक छेउका घर तथा टहरा भत्काइए पनि निर्माण कार्य हुन सकेको छैन। सडक डिभिजन कार्यालय पाल्पाले तीन वर्षअघिदेखि नै सडक विस्तार गर्ने नाममा सडक छेउका घर तथा टहरा 

हटाउन सुरु गरेको थियो। बगनासकालीको आर्यभञ्ज्याङदेखि राईडाँडासम्मका घर तथा टहरा हटाइएका थिए। 

उक्त सडकखण्डमा हालसम्म पनि सडक विस्तारको काम सुरु हुन नसकेको स्थानीयले बताएका हुन्। यस क्षेत्रका १५० भन्दा बढी घरटहरा भत्काइएको थियो। बगनासकाली–१, घोरबन्दाका स्थानीय खुमबहादुर गाहाले भन्नुभयो, “बाटो विस्तार गर्ने भनेर घर भत्काए तर अहिलेसम्म बाटो बनाउने सुरसार छैन।”

सडक डिभिजन कार्यालयले पनि घरटहरा हटाउने काम भए पनि सडक निर्माण कहिलेदेखि सुरु हुने भन्ने निश्चित हुन नसकेको जनाएको छ। सो क्षेत्रको सडक विस्तारका लागि बजेट नै नपरेकाले काम हुन नसकेको डिभिजन प्रमुख प्रदीपमणि निरौलाले बताउनुभयो। सिद्धार्थ राजमार्ग विस्तारको योजना नेपाल सरकारको भए पनि बजेट तथा कार्यक्रमका विषयमा निर्णय हुन नसकेको उहाँको भनाइ छ। 

सिद्धार्थ राजमार्गको बर्तुङदेखि चिडियाखोलासम्म र आर्यभञ्ज्याङदेखि राम्दीसम्म बनेका पक्की तथा कच्ची अवैध संरचना सडक कार्यालयले हटाउन सकेको छैन। सो कार्यालयका अनुसार यस राजमार्गको पाल्पा–बुटवल खण्डमा मात्र सात सयभन्दा बढी पक्की तथा कच्ची संरचना छन्।