पुष्कर भण्डारी
डडेल्धुरा, असोज ६ गते । चौथो संस्करणको स्ववियु कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता बिहीबार देखि सुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय प्रमुख गगन भण्डारीले उद्घाटन गर्नुभयो ।
विजया दशमीको अवसरमा डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
नकआउटका आधारमा खेलाइने प्रतियोगितामा पुरुष तर्फको विजेता टिमलाई एक लाख ५१ हजार, उपविजेतालाई ७५ हजार र तेस्रो हुने टिमलाई ४० हजार रुपियाँ पुरस्कार प्रदान गरिने स्ववियु सभापति जगत ऐरले बताउनुभयो ।
प्रतियोगितामा सवोत्कृष्ट खेलाडीलाई १० हजार र विधागततर्फ उत्कृष्ट ६ जनालाई पनि नगदसहित पुरस्कृत गरिने बताईएको छ । महिलातर्फ विजेतालाई १० हजार, दोस्रो हुने टिमलाई पाँच हजार र तेस्रोलाई तीन हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता आयोजनाका लागि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले १० लाख रुपियाँ सहयोग गरेको छ । प्रतियोगिता जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–८ स्थित क्याम्पसको खेल मैदानमा सञ्चालन गरिएको छ ।