• १३ साउन २०८१, आइतबार

निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग : काम रोक्न निर्देशन

blog

मध्यपहाडी राजमार्गको दैलेख–लोहोर सडक खण्डमा निर्माण गर्न लागिएको कङक्रिट वाल । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख,असोज ६ गते । मध्य पहाडी पुष्पलाल राजमार्गको दैलेख–लोहोरे सडक खण्डको किमुगाउँमा लगाउन सुरु गरेको पलम कंक्रिटवालमा गुणस्तरहीन काम भएको स्थानीयले आरोप लगाउनुभएको छ । 

वालमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएपछि मध्यपहाडी पुष्पलाल राजमार्ग योजना कार्यालयबाट गएको प्राविधिक टोलीले तत्काल काम रोक्न निर्देशन दिएको छ । 

शर्मा एन्ड हाई हिमालय जेभी ललितपुरले निर्माणको जिम्मा पाएको सो खण्डमा निर्माण गर्न लागिएको पलम कंक्रिट वाल निर्माणमा माटो मिसिएको बालुवा प्रयोग गरिएपछि स्थानीयले विरोध गरेका छन् । 

६४ करोड ७८ लाख रुपियाँ लागत रहेको सो सडक खण्ड विस्तारका लागि शर्मा एण्ड हाई हिमालय जेभिले ४१ प्रतिशत घटेर ३८ करोड १९ लाखमा सम्झौता गरेको थियो । २०७७ ज्येष्ठ २९ गते ठेक्का सम्झौता गरी २०७९ असार मसान्तसम्म सक्नुपर्ने काम आधा नहुँदै पुनः एक वर्ष सम्झौता म्याद थपिएको छ । 

मध्य पहाडी पुष्पलाल योजना कार्यालयका इन्जिनियर देवेन्द्र भट्टराईले पत्रपत्रिकामा आएको जसरी बालुवाको साटो माटोको प्रयोगभन्दा पनि बालुवा नपखालेर प्रयोग गरेको बताउनुभयो । स्थानीयले विरोध गरेलगत्तै आफूहरू त्यहाँ गएर काम रोक्न लगाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “निर्माण कम्पनीले पलम कंक्रिट वाल निर्माण गर्दा केही मात्रामा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइयो, हामीले काम रोक्न लगाएर राम्रो बालुवा पखालेर वा छानेर मात्र प्रयोग गर्न निर्देशन दिएका छौ ।” 

इन्जिनियर भट्टराईले भन्नुभयो, “सडक निर्माणको काम पेटीमा लिने निर्माण कर्ताबाट समस्या हुनेगरेको छ । सो सडक खण्डमा वाल निर्माण कार्यमा लापरबाही भएको जानकारी पछि लगातार अनुगमन गर्दैआएको छौँ ।”

मध्य पहाडी पुष्पलाल राजमार्ग योजना कार्यालयले राजमार्गको दैलेख खण्ड एक सय २५ किलोमिटरमा करिब ८० किलोमिटरभन्दा बढी कालोपत्रेको काम भएको जानकारी दिएको छ । आयोजनाले वर्षाको समय भएका कारण नाली निर्माण, गाभिन भर्ने, मेसेनरी वाल लगाउने र पहिरो गएको ठाउँमा पहिरो सोर्ने काम भइरहेको जनाएको छ ।