लक्ष्मी चौधरी
जनकपुरधाम, वैशाख ३१ गते । जनकपुरधाम उपमहानगरपालिका–६ स्थित पादप्रक्षालन (गोडधोई) पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
मृतक जनकपुरधाम उपमहानगरपालिका–४ निवासी गोविन्दलाल कर्णका अन्दाजी ३५ वर्षीय छोरा रविनलाल कर्ण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार मङ्गलबार साँझ स्थानीयले पोखरीमा व्यक्ति डुबेको जानकारी गराएपछि खोजतलास सुरु गरिएको थियो । तर प्रारम्भिक खोजीमा शव फेला नपरेपछि प्रहरी टोली फर्किएको थियो ।
बुधबार बिहान पुनः प्रहरीको टोली पोखरीमा पुगेपछि शव तैरिरहेको अवस्थामा देखेपछि पोखरीबाट कर्णको शव निकालिएको हो ।
मृतक कर्णको डुबेर मृत्यु भएको पुष्टि भए पनि घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।