• ३१ वैशाख २०८२, बुधबार

‘दरबारको ठुलो षड्यन्त्र गोरखापत्रले असफल बनायो’

blog

वरिष्ठ पत्रकार तथा गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक होमनाथ दाहाल ।

काठमाडौं, वैशाख ३१ गते । २०४६ सालको जनआन्दोलनपछि विश्वनाथ उपाध्यायको नेतृत्वमा संविधान सुझाव आयोग गठन भयो । अन्तरिम सरकारका प्रधानमन्त्री हुनुहुन्थ्यो–कृष्णप्रसाद भट्टराई । आयोगले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्को बैठकले पारित गरेर जारी गर्न नयाँ संविधानको मस्यौदा दरबार पठाइयो । तर दरबारबाट अर्कै संविधानको मस्यौदा दिइएपछि त्यसलाई गोरखापत्रले समाचारसहित प्रकाशन गरेको थियो । त्यतिबेला गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो–होमनाथ दाहाल ।

दरबारले दिएको संविधान छापेर दरबारिया षड्यन्त्रविरुद्ध नागरिकलाई जागरुक बनाउन कसरी सम्भव भयो त भन्ने विषयमा वरिष्ठ पत्रकार तथा गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक होमनाथ दाहाल (८४ वर्ष) सँग गोरखापत्र अनलाइनका लागि गरिएको संवाद :            

  • नेपाली पत्रकारिताको लामो इतिहास बोकेको गोरखापत्र एक सय २५ वर्षमा प्रवेश गरेकाे छ, नेपाली पत्रकारितामा गोरखापत्रले पुर्‍याएको एको योगदानबारे यहाँको के विचार छ ?

गोरखापत्रले पुर्‍याएको योगदान एकदम ठुलो छ । यो एक सय २५ वर्ष भनेर जुन भन्नुभयो । त्यसमा अनेक व्यवस्था नेपालमा एकदलीय निरंकुशतादेखि लिएर बहुदल, निर्दलीय निरंशकुता फेरि बहुदल यो सबैमा गोरखापत्रले आफ्नो भूमिका जो उसको परिधि छ, परिधिभन्दा बाहिर जाने कुरा त भएन, त्यो परिधिमा रहेर सकेसम्म जनतालाई सूचना प्रवाह गर्ने काम गोरखापत्रले गरेको छ । 

  • समाज विकास, साहित्य र देशकाे समृद्धिमा गोरखापत्रले खेलेकाे भूमिका बारेमा बताइदिनुस् ।

खास गरेर साहित्यको क्षेत्रमा त गोरखापत्रले असाधारण विकास गरेको छ । अहिले पनि विभिन्न प्रकाशनहरु मधुपर्कदेखि युवामञ्च, बच्चाहरुका लागि मुना, सबैको बारेमा गोरखापत्रले जुन निरन्तर आफ्नो कृतिहरु निकालिरहेको छ । यसले एउटा त पत्रपत्रिका पढ्ने बानी बढाएको छ । अर्को, त्यस क्षेत्रको विकासमा पनि गोरखापत्रको भूमिका धेरै ठुलो छ ।  

  • गोरखापत्रसँग जोडिएको रोचक अथवा दुखदायी कुनै सन्दर्भ छ कि ?

गोरखापत्रसँग जोडिएको अब यो २०४७ सालको परिवर्तनपछि म जो गोरखापत्रको अध्यक्ष हुनुपर्‍याे। त्यही नै हो मेरो सबैभन्दा ठूलो कुरा हाे। नभए त, अरु सामान्य पाठकको हैसियतले गोरखापत्रसँग सम्पर्क हुने हो । मेरो सम्बन्ध चाहिँ त्यसपछि हुन गयो । त्यो विशिष्ट सम्बन्ध छ, गोरखापत्रसँग मेरो । 

  • राजाले त्यो बेला छुट्टै संविधान दिएर गोरखापत्रले समाचार छापेको थियो । त्यो असाधारण काम थियो, कसरी भएको त्यो घटनाक्रम ?

त्यो के भन्दादेखि एक त, म गोरखापत्रको त्यहाँ अध्यक्ष तथा महाप्रबन्धक हुँदा नै बाहिर जो व्यवस्थामा आयो, गोरखापत्रको आन्तरिक चाहिँ पुरानै सिस्टमका मान्छेहरु थिए । अलिकति त्यसमा केही घटबढ भयो । 

त्यसपछि, त्यो चाहिँ तपाइको भनेको के भने जब, नयाँ संविधान जारी गर्नलाई आदरणीय विश्वनाथजी (विश्वनाथ उपाध्याय) को अध्यक्षतामा जुन समिति बन्यो र काम भयो । त्यसमा अनेक शक्तिहरु त्यहाँ काम गर्न थाले । सकेसम्म त्यो संविधान, पहिलाको महेन्द्रको बेलामा २००७ सालको क्रान्तिमा उनीहरुले नयाँ संविधान अन्तर्गत शासन सञ्चालन हुनेछ भनेर उनीहरुले त्रिभुवनले गरेको घोषणालाई जसरी यताउता गरेर त्यसलाई बेकार बनायो, त्यही डिजाइनको अझ त्यो भन्दा पनि क्रुर डिजाइनको गर्न खोजेपछि त्यो कुरा विश्वनाथजीले बुझ्नुभयो । 

उहाँको अध्यक्षतामा जुन संविधान बनिराखेको थियो, यदि त्यो प्रचारमा नआउने भयो र जारी भएन भने त, मुलुक फेरि अर्को एउटा संकटमा पर्छ भनेर उहाँहरुले निर्णय गरेर म गोरखापत्रको अध्यक्ष तथा महाप्रबन्धक थिएँ भन्ने कुरा उहाँलाई थाहा छँदै थियो । अनि बोलाएर के भन्यो भने यो यस्तो छ त्यसकारण, तिमीहरुले चाहिँ छापिदेऊ । कसैले केही भन्यो भने विश्वनाथले दिएको यो छापिदेऊ भनेर त्यसैले मैले छापेको हुँ भनेर तिमीले सिधैं मेरोमा हालिदिए हुन्छ भन्नुभयो । नभन्दै उहाँले त्यो कपी दिनु भयाे। त्यो पाएपछि गोरखापत्रका साथीहरुलाई, त्यहाँ पनि धेरै ठुलो परिवर्तन भइसकेको थियो, ल यो छाप्नुस् हुबहु भनेर मैले भनेँ । उहाँहरुले ठुलो मिहेनत गरेर छाप्नु भयो । त्यो छापेपछि भोलिपल्ट बिहान नेपाल बार एसोयिसनको नेतृत्वमा एउटा ठुलो  जुलुस निस्कियो । त्यो धरहराबाट सुरु भएको जुलुस, राजदरबारसम्म आइपुग्दाखेरी विशाल आकार लियो । अनि त्यसपछि संविधान जारी गर्ने कुरा भित्र के भएको थियो भने, विश्वनाथजीले बनाएको त्यो संविधानलाई एकातिर फालिदिएर राजाले अलग्गै संविधान जारी गर्ने भनेर भन्ने जुन कुरा थियो । त्यसको विरुद्धमा विश्वनाथजीले बनाएको प्रजातान्त्रिक संविधान, जनताको अधिकारको प्रत्याभूति भएको छ । त्यही संविधान नै जारी हुनुपर्छ भनेर त्यसको समर्थनमा सारा बुद्धिजीवीहरु देखेपछि अनि त्यही दिन दरबारमा संविधान जारी गर्ने र एउटा पार्टीको आयोजना पनि गरेको थियो । अनि त्यसमा मलाई पनि बोलाइएको थियो ।

संविधानविद्हरु, माथिल्ला राजनीतिकर्मीहरुले तयार गरेको संविधान जारी नगरेर फेरि राजाले षड्यन्त्र गरी प्रजातन्त्रमाथि जो षड्यन्त्र हुन लागेको थियो, त्यो असफल भयो ।

म पनि गएँ दरबारमा । राजा वीरेन्द्र त्यहाँ आए र संविधान जारी भयो । ठाउँ–ठाउँमा त्यो संविधानको पक्षमा ठुला जुलुसहरु निस्किरहेका थिए । बुद्धिजीवीहरु सबै त्यसको पक्षमा भए । किनभने, त्यसलाई उल्ट्याएर अर्कै संविधान दिने भन्ने जुन हल्ला भएको थियो र जुन षड्यन्त्र भएको थियो । त्यसको विरुद्धमा जनता पनि जागरुक भएर लागेपछि अनि त्यहाँबाट त्यही बेलामा एउटा विशेष घटना भयो । तपाइलाई एउटा रमाइलो म सुनाउँछु, त्यहाँ म पनि थिएँ । त्यहाँ राजा बसिराखेको । त्यही ठाउँमा विश्वनाथजीले च्याप्प समाएर घुमाएर राजाको अगाडि लगेर राख्नुभयो र भन्नुभयो, सरकार यसले ठुलो काम गर्‍यो । मैले बनाएको संविधान, यहाँ अनेक किसिमका षड्यन्त्रहरु बनाइरहेका थिए, त्यहाँबाट आज गोरखापत्रले सबै हुबहु छापिएपछि जनता सबै त्यो संविधानको पक्षमा लागेका छन् । 

त्यसकारण, यसले धेरै ठुलो काम गर्‍यो  भनेर व्यक्तिगतरुपमा विश्वनाथजीले मेरो प्रशंसा पनि गर्नुभयो । राजा केही बोलेनन् । बोल्ने कुरा पनि भएन । त्यसरी के भन्दाखेरी त्यो संविधान, त्यो हुँदाखेरी पनि त्यत्रो सङ्घर्ष गरेर विश्वनाथजीको अध्यक्षतामा एक सय एक समाजका प्रतिष्ठित मानिसहरु, संविधानविद्हरु, माथिल्ला राजनीतिकर्मीहरुले तयार गरेको संविधान जारी नगरेर फेरि राजाले षड्यन्त्र गरी प्रजातन्त्रमाथि जो षड्यन्त्र हुन लागेको थियो, त्यो असफल भयो ।

  •  त्यो षड्यन्त्र गोरखापत्रले असफल बनाइदियो ?

गोरखापत्रले छापेको संविधान जुन छ, त्यसैको पक्षमा ठाउँ–ठाउँमा जुलुस निस्किन थाल्यो । जनताको भर्खर आन्दोलन भएर पञ्चायत व्यवस्था खारेज गरेर पञ्चायतको विरुद्धमा निरन्तर १५, १६ वर्ष जेल बसेका कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा मन्त्रिपरिषद् बनाएको छ । त्यसले तयार गरेर त्यो परिवर्तनलाई संस्थागतरुपमा अगाडि बढाउने भनेर भन्ने जुन किसिमको थियो, त्यसलाई बिथोल्नका लागि असफल पार्ने षड्यन्त्र हुँदाखेरी जनता बढो सचेत भए । 

त्यसपछि राजा पनि चुँ नगरीकन विश्वनाथजीकै अध्यक्षतामा त्यही संविधानलाई चाहिँ जारी गरेर त्यो विषय टुंगिएको हो । 

  • अन्तिममा गोरखापत्र परिवार र गोरखापत्रका पाठकहरुलाई केही भन्न चाहनुहुन्छ कि ?

सम्पूर्ण नेपाली जनताको हक, अधिकारका लागि त्यो सङ्घर्ष थियो । जसरी त्यसको विरुद्धमा जो षड्यन्त्र हुन लागिरहेको थियो, त्यसको विरुद्धमा उनीहरु सडकमा उत्रेर त्यो संविधानको पक्षमा, प्रजातन्त्रको पक्षमा, राष्ट्रियताको पक्षमा, जसरी समुद्रको रुपमा नेपाली जनता सडकमा आए, त्यसले गर्दा मुलुकले लोकतान्त्रिक संविधान पायो । मुलुक अस्थीरतामा गएन । त्यसकारण, त्यसका लागि नेपाली जनतालाई धेरै धेरै धन्यवाद छ । गोरखापत्रले पनि एक किसिमको त्यो खतरा पनि माेलेको छ । त्यसै सिलसिलामा एउटा रमाइलो सुनौं । 

संविधान जारी भएपछि, त्यही दिन एउटा चियापानको आयोजना गरेको थियो । एक जना कर्मचारीले मलाई के भन्यो भने गोरखापत्रमा त्यो लेख नछाप्नुस् भनेर उनीहरुले त्यसलाई प्रचार नगर्ने भनेर अनि प्रचार गरेको खण्डमा कारवाही गर्नेछु, भन्ने कुरा चाहिँ उनीहरुले भने । 

त्यही बेलुका चियापानको कार्यक्रम आयोजना गरेको थियो । अनि मैले विश्वनाथजीलाई भनेँ- यो मान्छेले त मलाई कारवाही गर्छु भन्छ । के अधिकारले छाप्नु भयो भनेर । 

अनि उहाँले, के भनेको ? यो मैले दिएको संविधान छापिदेऊ भनेर । ल, कारवाही गर त, म पनि हेर्छु भनेर विश्वनाथजीले ठाडै हप्काएपछि अनि त्यो चुप लाग्यो । अनि देशव्यापीरुपमै ठाउँ–ठाउँमै जो ठुलो षड्यन्त्र २००७ सालको क्रान्तिमा घोषणा भएर अर्कै रुप लिएको थियो । फेरि मुलुक चाहिँ त्यो भन्दा पनि खतरनाक रुपमा मुलुकमा एउटा अस्थीरतातिर लग्ने जुन प्रयत्न भएको थियो, त्यो प्रयत्न हुन दिएन ।

त्यसकारण, गोरखापत्रले आफ्नो जीवनकालमा जे जति उसले अनेक कर्महरु गर्नपर्‍यो ।यो होला सरकारको बाध्यताले गर्दाखेरी । तर, ती सबैबाट मुक्ति हुने नेपाली जनताको पक्षमा सदासर्वदा रहिराख्ने, ठुलो खतरा चाहिँ मोलेर गोरखापत्रले त्यो दिन त्यो काम गरेको हो ।