काठमाडौँ, वैशाख ३१ गते । साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले घरेलु टोली भारतसँग फराकिलो हार खेपेको छ ।
भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रङ्गशालामा मङ्गलबार राति भएको खेलमा नेपाल घरेलु टोली भारतसँग ४–० गोलले पराजित भयो । समूहमा लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएको भारत समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।
पहिलो हार खेपेको नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । यसअघि पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ५–० र भारतले श्रीलङ्कालाई ८–० गोलले हराएको थियो ।
एक पक्षीय खेलमा भारतलाई जिताउन रोहिन सिंहले दुई तथा ओमङ्ग डोडुम र ड्यानी मिथेइले एक एक गोल गर्नुभयो । सेमिफाइनलमा भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्स र नेपालले समूह ‘ए’ को विजेता बङ्गलादेशसँग खेल्नेछ ।