• १९ असार २०८१, बुधबार

दशैं मनाउन दैनिक तीन हजार नेपाली घर फर्किंदै

blog

रोजगारीका लागि भारत गएका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किंदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असोज ५ गते । हिन्दुहरूको महान् पर्व दशैँ नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका सयौँ नेपाली चाडपर्व मनाउन नेपाल फर्किन थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली अहिले दशैं–तिहार मनाउन सो सङ्ख्यामा नेपाली स्वदेश फर्केका हुन् ।

लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सयौँ युवा अहिले नेपाल फर्किरहेकाले सीमामा भीड बढेको सीमास्थित जमुनाहा प्रहरीले जनाएको छ । दशैं नजिकै आइसकेकाले अहिले दैनिक तीन हजार बढी नेपाली भारतबाट रोजगारी गरेर घर फर्किरहेको जमुनाहा प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताउनुभयो । 

यसअघि सीमापारि र सिमानामै विभिन्न प्रकारका ठगी र लुटपाटमा नेपाली पर्दैआएकाले यसपटक दुबैतर्फ समन्वय गरेर कडा निगरानी बढाइएको उहाँले बताउनुभयो । सल्यान, दैलेख, सुर्खेत र जाजरकोटका सयौँ युवा दिनहुँ भारतबाट नेपाल फर्किरहेका छन् । भारतको सिमला, कुल्लु मनाली र हरिद्वारबाट काम गरेर पर्व मनाउन फर्किएको जमुनाहाका प्रहरी प्रमुख रिजालले बताउनुभयो । 

रोजगारीका लागि भारतको सिमला पुगेका नरबहादुर थापासँगै दैलेखको ५० जना युवाको टोली दशैं मनाउन घर फर्किएको छ । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दशैंमा सधैँ घर फर्किने गरेको थापाले बताउनुभयो ।

उहाँका अनुसार भारतको सिमलामा मजदुरी काम गर्ने सल्यानका मात्रै सयौँ युवा छन् । तीमध्ये केही पहिले नै आइसकेको र अरू आउँदै गरेको उहाँले बताउनुभयो । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्युठान लगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि हरेक वर्ष सयौँ युवा पुग्नेगरेका छन् ।

घर फर्किने क्रममा जमुनाह नाकामा भेटिनुभएका जाजरकोट पाँचकाटियाका हरिबहादुर खत्रीले घरपरिवारलाई लत्ताकपडा र दशैं खर्च लिएर भारतबाट ३० जनाको टोली घर फर्किन लागेको बताउनुभयो । 

आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने भएपछि लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । 

फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाएर विशेष निगरानी सुरु गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।