• १३ साउन २०८१, आइतबार

प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने गृहकार्य

blog

ललित बसेल

सुर्खेत, असोज ५ गते । सुर्खेतस्थित प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने गृहकार्य थालिएको छ। प्रदेश राजधानीमा अनुसन्धान तथा अध्ययन गर्ने प्रतिष्ठानको आवश्यकतालाई आधार मान्दै प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने गृहकार्य थालिएको हो। अस्पतालले प्रतिष्ठानमा स्तरोन्नति गर्नका लागि प्रतिष्ठान सञ्चालन ऐनको मस्यौदासमेत तयार गरेको छ।

शनिबार सुर्खेतमा स्वास्थ्य क्षेत्रका विज्ञ, प्रदेश सरकारलगायत सरोकारवाला क्षेत्रका प्रतिनिधिलाई बोलाएर प्रतिष्ठानको मस्यौदा सार्वजनिक गर्दै अस्पताल प्रशासनले सुझावसमेत सङ्कलन गरेको छ। १५० शय्याको दरबन्दी भए पनि बिरामीको चाप बढेर ३५० शय्याबाट बिरामीलाई उपचार सेवा दिइरहेको हुनाले प्रदेश अस्पताललाई अध्ययन, अनुसन्धान केन्द्र तथा प्रतिष्ठानमा स्तरोन्नति गर्न सकिने दाबी गरिएको छ।

मस्यौदामा अस्पतालले सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम प्रस्ताव गरेको छ। अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले कर्णाली प्रदेश सरकारले पनि प्रदेश अस्पताललाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने भनेर पारित गरेको हुनाले यसको गृहकार्य थालिएको बताउनुभयो। उहाँले भौतिक पूर्वाधार पर्याप्त रहेको, प्रदेशका सबै जिल्लाबाट उपचारका लागि आउने गरेको, प्रयोगात्मक अभ्यासका लागि यथेष्ट बिरामी उपलब्ध हुने, विभिन्न विभाग तत्काल चलाउन सक्ने गरी दक्ष जनशक्ति तयार भएको, प्रदेश सरकारले पनि नीति तथा कार्यक्रममै प्रतिष्ठानमा विकास गर्ने भनेको आधारमा प्रदेश अस्पताललाई प्रतिष्ठानमा स्तरोन्नति गर्न सकिने कारण प्रस्ट्याउनुभयो।

अस्पतालले प्रतिष्ठानमा विकास गर्ने भने पनि स्वास्थ्य सेवाका विज्ञहरूले भने सबै पूर्वाधार तयार गरेर मात्र काम अगाडि बढाउन सुझाव दिएका छन्। उनीहरूले प्रतिष्ठानमा विकास गर्ने गृहकार्य राम्रो भए पनि एकल प्रयासबाट सम्भव नहुँदा सबैको साथबाट पूरा हुने बताएका छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले स्वास्थ्यको राष्ट्रिय नीतिअनुसार नयाँ–नयाँ प्रतिष्ठानहरू बनाउन सकिने बताउनुभयो। उहाँले प्रतिष्ठान कसैको रहर र लहरमा स्थापना गर्न नसकिने भन्दै प्रदेश र सङ्घीय सरकारबीच समन्वय गरेर अगाडि बढ्न सुझाव दिनुभयो। प्रतिष्ठान बनाएर एमबीबीएस पढाउने फेसन भएको हुँदा हतारमा त्यस्तो कुनै कदम नचाल्न उहाँको आग्रह छ।

यस्तै पाटन अस्पतालका स्वास्थ्यविज्ञ प्रा.डा. अर्जुन कार्कीले बिरामीलाई सेवा दिने मात्र नभई अध्ययन र अनुसन्धानको केन्द्र बनाउने चाहना राम्रो भए पनि चुनौतीपूर्ण भएको बताउनुभयो। उहाँले प्रतिष्ठानको तयारी पूरा गरेर मात्र अगाडि बढ्न सुझाव दिनुभयो। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वडिन डा. मोदनाथ मराठाले प्रतिष्ठानमा रूपान्तरण गर्नका लागि प्रदेश अस्पतालको पूर्वाधार र आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभयो। यद्यपि जनशक्ति कम भएकाले बजेट व्यवस्थापन गर्न उहाँले सुझाव दिनुभयो। प्रा.डा. रमेशनाथ अधिकारीले प्रतिष्ठानको तयारी हलुका ढङ्गले नहुने बताउनुभयो।

अस्पताललाई प्रतिष्ठान बनाउनका लागि स्थानीय तथा प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता सो अवसरमा जनाइएको छ। सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीले प्रदेश सरकारले बजेटमै प्रतिष्ठानका रूपमा विकास गर्ने नीति लिएको हुँदा सोहीअनुसार काम गर्न सकिने बताउनुभयो। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पनि पूर्वाधारलगायतका काममा क्षमताअनुसारको सहयोग गरिने जनाउनुभयो।

प्रदेश अस्पतालमा हाल दैनिक पाँच सयदेखि एक हजार जनासम्म उपचारका लागि बिरामी आउने गरेका छन्। अस्पतालमा १६ वटा विभाग क्रियाशील छन् भने ३२५ दरबन्दी रहेको बताइएको छ।