• १९ असोज २०८१, शनिबार

साफ महिला च्याम्पियनसिप फाइनल

नेपाल र बङ्गलादेश भिड्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, असोज ३ गते । छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (सोमबार) साँझ नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ । दशरथ रङ्गशालामा साँझ ५:०० बजे सुरु हुने फाइनलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।

नेपाली टोलीका प्रशिक्षक कुमार थापाले नेपालको एउटै लक्ष्य उपाधि भएको बताउनुभएको छ । ‘‘घरेलु मैदानमा दर्शकको ऊर्जालाई मर्न दिने छैनौँ । हामीले उपाधि बाहेक अरू देखेका छैनौँ । त्यसका लागि शारीरिक, मानसिक र प्राविधिक हिसाबले तयार छौँ,’’ थापाले भन्नुभयो । 

बङ्गलादेशका प्रशिक्षक गोलोन रब्बानीले पनि फाइनल खेल्नका लागि आफ्ना खेलाडी सबै तवरले आतुर रहेको बताउनुभएको छ । ‘नेपाल बलियो टोली हो । घरेलु दर्शकको साथ नेपाललाई रहनेछ । तर फाइनलका लागि हामीले फरक योजना बनाएका छौँ । त्यही अनुसार खेल्नेछौँ,’’ रब्बानीले भन्नुभयो ।

१३ हजार दर्शक क्षमताको दशरथ रङ्गशालामा दर्शकको पूरा उपस्थिति रहने अनुमान अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को छ । नेपालले पाँच पटकको च्याम्पियन भारतलाई सेमिफाइनलमा १–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

बङ्गलादेशले भने भुटानलाई पछि पार्दै फाइनलमा पुगेको हो । आजको खेलमा दुवै टोली पहिलो पटक च्याम्पियन बन्दै नयाँ इतिहास रच्ने अभियानमा छन् । आजैको खेलपछि नेपालकी पुनम जर्घामगर, दीपा राई र इन्दिरा राईले राष्ट्रिय टोलीबाट सन्यास लिने तयारी गर्नुभएको छ ।