• ८ वैशाख २०८१, शनिबार

गणेशमान सिंहको २५ औँ पुण्यतिथि

जनताको जीविकोपार्जनलाई सहज गर्न आर्थिक क्रान्ति आवश्यक : नेता सिंह

blog

सर्वोच्च नेता गणेशमान सिंहको सालिकमा माल्यर्पण गर्नुहुँदै नेता सिंह । तस्बिर सौजन्य : युपी लामिछाने

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभएको छ ।

आइतवार नेपाली काँग्रेसका नेता गणेशमान सिंहको २५ औँ पुण्यतिथिको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनताको जीविकोपार्जनलाई सहज गराउन आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभएको हो ।


 उहाँले संविधान अनुरुप प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धित तहलाई दिलाएर आवश्यक कानुनहरु समयमै बनाउनुपर्ने बताउनु भयो । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आर्थिक क्रान्ति गर्नुपर्ने उहाँको भनाइ छ ।

नेता सिंहले शिक्षालाई सीपसँग जोडेर आधारभूत शिक्षा सक्नासाथ सक्षम नागरिक बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले देशभरका वडाहरुमा क्लिनिक स्थापना गरी स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्ने बताउनुभयो । त्यस्तै, बेरोजगार युवाहरुलाई रोजगार दिनका लागि सबै निर्वाचन क्षेत्रमा तालिमकेन्द्र स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले गणेशमान सिंहले प्रधानमन्त्रीको कुर्सीसमेत त्यागेको उल्लेख गर्दै उहाँबाट समाज परिवर्तनका लागि कतिसम्म त्याग गर्नुपर्छ भन्ने कुराको अनुकरण गर्नुपर्ने बताउनुभयो ।