• १३ साउन २०८१, आइतबार

मुगुमा सुपथ मूल्यमा चामल बिक्री हुने

blog

हरिकृष्ण ऐडी

मुगु, असोज १ गते । दशैँ र तिहारलाई लक्षित गरेर शनिबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुले सुपथ मूल्यमा बिक्री गर्ने सहुलियत पसल सञ्चालन गर्नुभएको छ । 

चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको सो संस्थाले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुका कार्यालय प्रमुख पुष्कर भामका अनुसार चाडपर्वमा उपभोक्तालाई राहत दिन लिमिटेड केन्द्रीय कार्यालयको लिखित पत्रअनुसार असोज १ गतेबाट कात्तिक १५ गतेसम्म एक हजार पाँचसय क्विन्टल बोरा चामल सुपथ मूल्यमा बिक्री गर्ने लक्ष्य लिएको छ । 

खाद्य संस्थान शाखा मुगुले बासमती चामल, स्टिम जिरा मसिनो चामल, अरुवा जिरा मसिनो चामल, सोना मसुसी चामल, अरुवा मध्यम चामल, अरुवा मकवानपुर चामल, लगायत  मास दालमा प्रत्येक आइटममा प्रतिकेजी ७ रुपियाँका दरले छुट दिने प्रमुख भामले  बताउनुभयो । 

उहाँले भन्नुभयो, “सहुलियत चामल र दाल खरिद गर्न उपभोक्ताले नागरिकताको प्रमाणपत्र साथमा ल्याउनुपर्ने छ ।” कार्यालयका अनुसार सहुलियत सुविधा प्रतिव्यक्तिलाई एक पटक मात्र  हुनेछ ।