• १३ असोज २०८१, आइतबार

प्रतिनिधिसभा बैठक

सर्वोच्चले संसद् पुनर्स्थापना गरेर न्याय दिएको छ : प्रधानमन्त्री देउवा

blog

प्रधानमन्त्री शेरबहादुर देउवा । फाइल तस्बिर

काठमाडौं, असोज १ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद् पुनर्स्थापना गरेर न्याय गरेको बताउनुभएको छ। शनिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेशबाट विघटन भएको संसद् पुनर्स्थापना भएकाले अदालतले न्याय गरेको बताउनुभएको हो। 

उहाँले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीतर्फ इंकित गर्दै सरकार मात्रै नभएर संसद् पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको बताउनुभयो। परमादेश नभएको भए सत्तापक्ष र प्रतिपक्षसँगै बसेर काम गर्न नपाइने भन्दै उहाँले परमादेशले भेट गर्ने मौका दिएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘हुन त हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ, जहिल्यै मलाई थाहा छ। यो संसद् नै परमादेशबाट आएको हो। त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौ। धेरै ठूलाठूला विधेयक पास गर्न सकिँदैनथ्यो। परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ। यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महसुस गरेको छु।’

प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन सरकारले नागरिकता लगायतका धेरै विधेयक पारित गर्न सफल भएको बताउनुभयो। उहाँले सरकारले बहुपक्षीय तथा द्विपक्षीय परराष्ट्र सम्बन्धमा पनि सुधार गरेको उल्लेख गर्नुभयो। 

उहाँले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण समर्थन हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘आउँदो मङ्सिर ४ गते सम्पन्न गर्नेगरी घोषणा भएको सङ्घ, प्रदेशसभा सदस्यको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण रूपमा सम्पन्न गराउने निर्वाचन आयोगको कामलाई सरकारले पुरापुर उहाँहरूलाई निष्पक्ष चुनाव गराउन सहयोग गर्ने विश्वास पनि दिलाउन चाहन्छु। निर्वाचन आयोगलाई सरकारको तर्फबाट पूर्ण सहयोग हुनेछ।’

उहाँले वर्षाका कारण देशभर आएको बाढी, पहिरो र डुबानको नोक्सानी बुझेर सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने बताउनुभयो।