काठमाडौं, असोज १ गते । नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकालाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ।
शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जनाको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको हो।
उहाँले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकप्टर परिचालन गरेर घाइतेको उपचारका लागि चिकित्सकको टोली परिचालन गर्न सरकारलाई सचेत गराउनु भयो। नेता रावलले विपद्को यस घडीमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भीर हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, ‘यो अविरल वर्षा र त्यसपछि आएको पहिरोको कारणले गर्दा अछाम जिल्लाको कमल बजार नगरपालिका, गाउँपालिका धेरै ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म प्राप्त सूचना अनुसार १६ जनाको हताहत भएको खबर छ। स्थानीय प्रशासन सशस्त्र प्रहरीहरू, नेपाल प्रहरीलाई त्यहाँ पुग्नका लागि पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको छ। अहिले त्यहाँ लत्ताकपडा, भाँडाकुँडा र घाइतेको औषधिउपचारको अत्यन्त ठूलो खाँचो छ। यसलाई एकदमै गम्भीर रूपमा लिएर हेलिकप्टरबाट त्यहाँ सामानहरू पुर्याउने, राहत र उद्धारको कामलाई तदारुपताका साथ पुर्याउनुपर्छ।’’
उहाँले सेनाको हेलिकप्टरबाट चिकित्सकको टोलीलाई त्यहाँ पठाउनसमेत सरकारसँग माग गर्नुभएको छ। कतिपय ठाउँमा पहिरोका कारण बाटो अवरुद्ध भएको हुनाले त्यहाँ सुरक्षाकर्मीहरू पुग्न धेरै कठिन भएको उहाँको भनाइ छ। विपद्को बेलामा हामी आज अन्तिम अवस्थामा पनि छौँ। यसतर्फ म नेपाल सरकार र गृहमन्त्रीको उहाँले गम्भीर ध्यानाकर्षण गराउनु भएको छ।