• ३१ वैशाख २०८१, सोमबार

सडकपेटीका व्यापारीद्वारा ज्ञापनपत्र

blog

काठमाडौँ, भदौ ३१ गते । चाडपर्व (दशैँ, तिहार, छठ)सम्म व्यापार गर्न पाउनुपर्नेलगायतका माग राख्दै सडकपेटीमा व्यापार गरिरहेका व्यापारीले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । 

नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) निकट नेपाल स्वरोजगार श्रमिक व्यापार सङ्घको नेतृत्वमा बिहीबार काठमाडौँका सडकपेटीमा व्यापार गरिरहेका व्यापारीले महानगरको कार्यालय घेराउ गरेका हुन् । घेराउकर्ताले दशैँ, तिहारका बेला बिहान वा साँझको समयमा सडक आवागमनमा असर नपर्ने गरी सडकपेटीमा व्यापार गर्न दिनुपर्ने माग गरेका हुन् । 

घेराउकर्ताले महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीमार्फत महानगर प्रमुख बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । 

नेपाल स्वरोजगार श्रमिक व्यापार सङ्घका अध्यक्ष माया गुरुङले अधिकांश व्यापारीले साउनमै दशैँका लागि सामान खरिद गरिसकेको हुँदा खरिद गरेका सामान बिक्री गर्न दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरका प्रमुखको कदम ठीक छ, यसमा हामी सहयोग गर्छौं तर हामीले किनेर ल्याएको सामान दशैँमा बिक्री गर्ने समय दिइयोस् । हामी तोकेको समयमा गएर बिक्री गर्छौं ।” 

उहाँका अनुसार उपत्यकामा मात्रै सङ्घमा आबद्ध स्वरोजगार श्रमिकको सङ्ख्या १८ हजार रहेको छ तर अन्य सङ्गठनमा आबद्ध र आबद्ध नभएका समेत गरेर ५० हजारको हाराहारीमा सडक व्यापारी छन् । 

ज्ञापनपत्र बुझाउँदै व्यापारीले सडकपेटीको व्यापार रोक्नुअघि तत्कालीन र दीर्घकालीन विकल्प हुनुपर्ने माग गरेका छन् । दीर्घकालसम्मका लागि नागरिक बजार सञ्चालन नहुँदासम्म महानगरभित्र सन्ध्याकालीन बजारको व्यवस्थापन गर्नुपर्ने, यसका लागि निश्चित समय र स्थान निर्धारण गरिनुपर्ने, महानगरमा श्रम डेस्कको स्थापना गरी स्वरोजगार श्रमिकको सूचीकरणलगायत श्रमसँग सम्बन्धित कामको थालनी गर्नुपर्ने उहाँहरूको माग छ । महानगरका प्रवक्ता नवीन मानन्धरले अनधिकृत रूपमा निर्माण भएका संरचना र सडक नै जाम गराउने सडकपेटीको व्यापार हटाउने नीति लिएको बताउनुभयो ।