• १२ मंसिर २०८१, बुधबार

निर्वाचनमा एमालेलाई हार्न छुट छैन : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ३० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशको विकास र समृद्धिका लागि निर्वाचनमा एमालेलाई हार्ने छुट नभएको बताउनुभएको हो । 

उहाँले आगामी मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सामान्य निर्वाचन नभएको चर्चा गर्नुभयो । लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि पनि यस पटक एमाले हार्न मिल्दैन” अध्यक्ष ओलीले भन्नुभयो, “देशको  विकास गर्न एमालेबाहेक अर्को कुनै राजनीतिक शक्ति सक्षम छैन ।” 

आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेता तथा कार्यकर्तालाई मत वृद्धि र मत रक्षा गर्न समेत उहाँले आग्रह गर्नुभयो । एमालेमा प्रवेशको लहर चलेकाले स्थानीय तहमा ३८ लाख मत प्राप्त गरिएको र अबको निर्वाचनमा ५० लाख मत पुराउनु उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य यमबहादुर परियार, प्रदेश समिति सदस्य पीताम्बर पोखरेल, लावन्यराज शर्मा, नारायणप्रसाद अधिकारी, गोविन्दप्रसाद अधिकारी, आकाश थापा, सुरेश थापा, बुद्धिबहादुर लामा, रामप्रसाद सापकोटा, हेमबहादुर गुरुङ, कृष्ण अधिकारी, प्रदेश सचिवालय सदस्य तथा भरतपुर महानगरका सह इन्चार्ज अञ्जन तिमिल्सेना, कालिका नगरपालिकाका उपाध्यक्ष तुलबहादुर विक, बागमती प्रदेश कमिटी सदस्य गिरिधारी सुवेदीलगायत नेता एमालेमा प्रवेश गर्नुभएको छ । 

नवप्रवेशीलाई पार्टी अध्यक्ष ओलीले खादा टीका लगाएर स्वागत गर्नुभयो । सो अवसरमा एमाले नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, देवी ज्ञवाली लगायतको सहभागिता थियो ।