• ६ जेठ २०८१, आइतबार

तीन दिन भारी वर्षा हुने, सुदूरपश्चिमका जिल्ला बाढीको जोखिममा

blog

गोकर्ण दयाल

बैतडी, भदौ ३० गते । वर्षाका कारण सुदूरपश्चिम प्रदेशका बैतडीसहित सात जिल्लाका नदीमा बिहीबारदेखि तीन दिन पानीको जल सतह उल्लेख्य बढ्ने भन्दै जल तथा मौसमविज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन सूचना जारी गरेको छ । 

बिहीबारदेखि लगातार वर्षा हुने भएकाले तीन दिन महाकाली, सेती र कर्णाली नदीको जल सतह उल्लेख्य मात्रामा बढ्ने भन्दै बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछाम जिल्लाका बासिन्दालाई सतर्कता अपनाउन सन्देश जारी गरिएको हो । 

बैतडीको पश्चिममा महाकाली र पूर्वमा सेती नदीसहित जिल्लाभित्र बग्ने सुर्नया र जमाडी नदीमा जल सतह बढ्ने भएकाले स्थानीय प्रशासनले सतर्क रहन अनुरोध गरेको छ । गतवर्ष कात्तिक पहिलो साता आएको सेतीको बाढीले बैतडीको सिगास गाउँपालिका –५, ढुङ्गाढ क्षेत्रमा पुल र घरखेत बगाउँदा १०३ घर परिवार विस्थापित भएको स्थानीय लोकबहादुर चन्दले बताउनुभयो । 

चन्दले भन्नुभयो, “यो वर्ष पनि बाढीको त्रासले राम्रेसँग सुत्न पाएका छैनौं । ढुङ्गाढ क्षेत्रमा २०५८ जेठ २६ गते, २०६५, २०७० र २०७८ कात्तिक ४ गते गरी पटक–पटक आएको ठूलो बाढीले गाउँ तहननहस हुँदा पनि गतिलो तटबन्ध निर्माण भएको छैन ।”