• १४ वैशाख २०८१, शुक्रबार

पुरोहितलाई भ्याइनभ्याइ

blog

सञ्जयकुमार मिश्र 

गौर, भदौ ३० गते । सोह्रश्राद्ध गराउने पुरोहितको चरम अभावका कारण आफ्ना पितृलाई पिण्ड दान गर्नेलाई समस्या उत्पन्न भएको छ। सोह्रश्राद्धको समयमा पितृलाई पिण्ड दान गर्नाले मृतात्माको चिरशान्ति मिल्ने विश्वास गरिन्छ। 

पिण्ड दान गराउने कर्मकाण्डी पण्डितको अभावका कारण पिण्ड दान गर्नेलाई समस्या उत्पन्न भएको हो। पिण्ड दान गराउने पुरोहितको गाउँगाउँमा चरम अभाव तथा उपलब्ध पुरोहितमध्ये नयाँ पुस्ताका कर्मकाण्डी तथा ज्योतिषीले पूजा पाठ, सोह्रश्राद्ध गराउन रुचि नराख्ने, तथा आफ्ना घर परिवारको गुजारा चलाउन गाह्रो हुनेभएको र अन्य पेसामा समेत लागेका कारण पुरोहितको अभाव भएको हो। प्रत्येक वर्ष भदौ महिनाको पूर्णिमाको दिन अगस्तमुनिलाई पानी दिएर त्यसको भोलिपल्ट अर्थात् असोज महिनाको कृष्णपक्ष प्रतिपदा तिथिदेखि आफ्ना पितृको सम्झनाको तिथिमा असोज महिनाको अमावश्यासम्म पितृ तर्पणसँगै पिण्डदान गर्ने गरेको अर्का पण्डित पवन झाले बताउनुभयो। 

पण्डितको अभावमा बिना मन्त्र नदीमा गएर स्नान गरेर पितृ तर्पण गर्ने गरेको भग्लु राउतले बताउनुभयो। उहाँले दुई जना पण्डितलाई तर्पण गराउने भन्दाभन्दै कसैले पनि सकार नगरेपछि आफू बाध्य भएर बिनामन्त्र सिधै तर्पण गर्ने गरेको बताउनुभयो। शास्त्रअनुसार तथा विधिपूर्वक एक जना पुरोहितले पिण्डदान गराउँदा लगभग तीन घण्टासम्म समय लाग्ने भएकाले एक दिनमा दुईवटाभन्दा बढी पिण्ड दान गराउन नभ्याइने तर एक दिनमा पाँच÷सात जना जति पिण्ड दान गर्ने यजमान आफूकहाँ दिनहुँ आउने गरेको पुरोहित सुशीलकान्त झाले बताउनुहुन्छ। 

प्रत्येक वर्ष पुरोहितको अभावमा पिण्ड दान गर्न झेल्दै आएको समस्याबाट बच्न यस वर्ष भारतको गया भन्ने पवित्र धार्मिक स्थलमा गएर विधिपूर्वक पितृको पिण्ड दान गर्न जाने तयारीमा रहेको जीवछ झा बताउनुहुन्छ। आफूजस्तै पुरोहितको अभावमा आफ्ना पितृलाई पिण्ड दान गर्नका लागि गया जाने टोल तथा छिमेकी गाउँका दर्जनौँको हाराहारीमा तयारीमा रहेका झाले बताउनुभयो। आधुनिक युगसँगै परम्परा रीतिरिवाज तथा धर्म संस्कृति लोप हुँदै गएको ज्योतिषाचार्य पण्डित गङ्गाधर झाले बताउनुभयो। उहाँ अहिलेको विद्यार्थीले संस्कृतको पढाइप्रति रुचि नराख्ने पढेर गुजारा पनि चल्न गाह्रो हुने अवस्था रहेकाले अन्य पेसामा लाग्ने गरेको कारण यस्तो समस्या उत्पन्न भइरहेको जानकारी दिनुभयो।