• १९ असोज २०८१, शनिबार

यू–२० एसियन कप छनोटमा नेपालको दोस्रो हार

blog

बल खोस्ने प्रयास गर्दै कतार र नेपाल (रातो जर्सी) का खेलाडी ।

काठमाडौं, भदौ २८ गते । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा खेलमा नेपालले लगातार दोस्रो हार खेपेको छ । सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३–१ गोलले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो । 

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्नुभयो । नेपालले अन्तिममा आत्मघाती गोल उपहार पाएको थियो ।

बल बचाउने क्रममा जासिमल मोहमदको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल अहिले तालिकाको अन्तिममा छ । लगातार हारले नेपालको छनोट सम्भावना कमजोर बनेको छ ।

नेपालले तेस्रो खेल बुधबार आयोजक बहराइन र अन्तिम खेल आइतबार बङ्गलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्बेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छ ।