• १७ असार २०८१, सोमबार

धान उत्पादन घट्ने चिन्ता

blog

रवीन्द्र उप्रेती 

बर्दिबास, भदौ २८ गते । सरकारले स्वीकृति नदिएको धानको बीउ प्रयोग गर्दा धान उत्पादनमा कमी आउने कृषि विज्ञले जनाएका छन् । पछिल्लो समय तराईका दक्षिणवर्ती क्षेत्रमा किसानले भारतबाट सोना मन्सुली धानको बीउ ल्याएर लगाउने गरेका छन् । यसलाई नेपाल सरकारले स्वीकृति भने दिएको छैन । 

कृषि ज्ञान केन्द्र, महोत्तरीका अनुसार यो धानको बीउ प्रतिबन्धित छ । भारतबाट अवैध रूपमा भित्रिएको यसको बीउ ‘शिथ ब्लाइट’ नामक रोगबाट सङ्क्रमित भएको पाइएको छ । यही कारण यो प्रजातिको धान नलगाउन कृषि विज्ञले आग्रह गर्दै आएका छन् ।  

महोत्तरीको दक्षिणवर्ती ७० प्रतिशत किसानले प्रतिबन्धित सोना मन्सुली धान नै लगाएको हुँदा यसले कृषि ज्ञान केन्द्रको चिन्ता बढाएको छ । खान मिठो हुने, चामल बढी पर्ने र व्यापारीले दाइँ गरेकै ठाउँमा पुगेर खरिद गरिदिने जस्ता कारणले किसान सोना मन्सुलीप्रति आकर्षित भएका हुन् । गत वर्ष यो धान प्रतिकेजी २८ देखि ३० रुपियाँप्रति किलोमा बिक्री भएको स्थानीय कृषकको भनाइ छ । 

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवका अनुसार दक्षिणी भेगका कृषकको पहिलो रोजाइमा परे पनि सोना मन्सुली धानमा ‘शिथ ब्लाइट’ नामक रोग लाग्ने र उत्पादन प्रभावित हुने अनुसन्धानका क्रममा देखिएकाले यसको खेती नगर्न सुझाव दिएको हो । 

‘राइजोकटोनिया सोनाली’ जीवाणुका कारण फैलिने ‘शिथ ब्लाइट’ रोगले धानको बोटमा जाइलम र फलोएम नष्ट गर्छ । यसले गर्दा पातले खाना बनाउन नसक्ने र बिरुवाको सबै भागमा पुग्न पाउँदैन र बोट सुक्दै जाने डा. यादवले जनाउनुभयो । “बोट सुकेपछि उत्पादन प्रभावित हुन्छ, यसबाट किसान मात्र नभई अन्ततः राष्ट्रले नै क्षति बेहोर्नु पर्छ,” उहाँले भन्नुभयो । 

कृषि ज्ञान केन्द्रका अनुसार यो वर्षको सुरुमा मनसुनी वर्षा अनुकूल भएकाले जिल्लामा ४५ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । त्यसमध्ये जिल्लाको दक्षिणवर्ती क्षेत्रका साढे ३१ हजार हेक्टर क्षेत्रफलमा सोना मन्सुली लगाइएको अनुमान छ । 

बर्दिबासस्थित किसान सेवा कृषि सहकारी संस्थाका सञ्चालक रविराज दाहालका अनुसार भौगोलिक कारणले पनि दक्षिणका किसान प्रतिबन्धित सोना मन्सुली धानप्रति आकर्षित भएका हुन् । दक्षिणी भेगका गहिरो खेतमा बढी पानी लाग्ने र लामो समयसम्म चिस्यान हुन्छ । त्यहाँ ढिलो गरी पाक्ने प्रजातिको धान चाहिन्छ । सोना मन्सुली मङ्सिरतिर पाक्ने प्रजातिको भएकाले दक्षिणी भेगमा सरकारले रोक लगाए पनि यसको खेती हुने गरेको उहाँको भनाइ छ । 

महोत्तरीमा मात्र नभएर सोना मन्सुली मधेश प्रदेशका आठवटै जिल्लाको समस्या भएको बताइएको छ । प्रतिबन्धित भए पनि यी जिल्लाका दक्षिणवर्ती क्षेत्रमा हरेक जिल्लामा न्यूनतम दुई सय मेट्रिक टनको दरले सोना मन्सुलीको बीउ बिक्री भएको बताइएको छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख डा. यादवले सूचीकृत नभएको सोना मन्सुलीमा तोकिएको जातीय गुण नभएकाले रोग प्रकोप बढेर जुनसुकै बेला किसानलाई धोका हुन सक्ने बताउनुभयो ।

यो पटक ब्याड राख्ने बेला कोलकातास्थित ‘पान सिड्स प्रालि’ले उत्पादन गरेको ‘एमटीयू ७०२९’ नामको सोना मन्सुली धानको बीउ महोत्तरीका बजारमा छ्याप्छयाप्ति देखिएका थिए । यो प्रतिकेजी १०५ देखि ११० रुपियाँको दरले बिक्री भएको थियो ।