• ११ मंसिर २०८१, मङ्गलबार

साल्ट ट्रेडिङले तोरीकाे तेल उत्पादन गर्ने

blog

काठमाडौँ, भदौ २८ गते । साल्ट ट्रेडिङ कर्पोरेसनले एसटीसी ब्रान्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । आमउपभोक्तालाई गुणस्तरीय खानेतेल उपलब्ध गराउने उद्देश्यका साथ कर्पोरेसनले हेटौँडामा रहेको नेपाल वनस्पति उद्योग लिमिटेडबाट तेल उत्पादन गर्ने भएको हो । कर्पोरेसनको ६०औँ वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो । 

कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले एसटीसी ब्रान्डका तोरीको तेल उत्पादन गर्नका लागि अन्तिम तयारी भएको र छिट्टै बजारमा आउने जानकारी दिनुभयो । 

कर्पोरेसनले विगत केही वर्षदेखि एसटीसी ब्रान्डमा खाना पकाउने ग्यास (एलपी ग्यास) वितरण गर्दै आएको छ । कर्पोरेसनले कृषि विकासमा योगदान पुु¥याउने उद्देश्यले अनुदानको रासायनिक मल मात्र अनुदानरहित मलसमेत आयात गरी बिक्री वितरण गर्दै आएको छ । 

कर्पोरेसनले आउँदा दिनमा नयाँ वस्तु र सेवा ल्याउनेभन्दा पनि भएका सेवा र वस्तुलाई थप गुणस्तरीय बनाउने योजना ल्याएको छ । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले साल्ट ट्रेडिङ कर्पोरेसनले सेवासँगै आफ्नो उत्तरदायित्वलाई प्राथमिकतामा राखेर महामारीको बेलामा समेत आमनागरिकको घरदैलोमै पुगेर सेवा पु-याउने काम प्रशंसनीय भएको बताउनुभयो । उहाँले नाकाबन्दी, भूकम्प, केरोना महामारीजस्ता हरेक सङ्कटमा सेवा दिने मात्रै नभई कर्पोरेसनले आयोडिनयुक्त नुन दुर्गम जिल्लासम्म पु-याएको बताउनुभयो । 

सो अवसरमा कर्पोरेसनले यस वर्षको ‘लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कार, २०७९’ बाट निस्सहाय बालबालिका सेवा आश्रम इटहरी सम्मानित र पुरस्कृत गरेको छ । उक्त आश्रम ७५ हजार रुपियाँ नगदसहित पुरस्कृत गरेको हो । 

उक्त आश्रम बाबुआमाविहीन बालबालिकाको लालनपालनदेखि शिक्षा, स्वास्थ्य, संस्कारमा गरेको योगदानको उच्च कदर गर्दै सो पुरस्कार प्रदान गरिएको हो । उक्त आश्रममा हाल ५० जना सहाराविहीन बालबालिकाले आश्रय लिँदै आएका छन् । 

यसैगरी सो अवसरमा एसईईमा उच्चतम अङ्क ल्याउने (कर्मचारीका छोराछोरी) दुई जना विद्यार्थीलाई दुई वर्षसम्म मासिक तीन हजार रुपियाँका दरले छात्रवृत्ति प्रदान गरियो । सो अवसरमा राम्रो काम गर्नेछ जना कर्मचारीलाई नगदसहित पुरस्कृत गरियो ।