• १३ वैशाख २०८१, बिहिबार

सय दिनका उपलब्धि सार्वजनिक

blog

दैलेख समाचारदाता

दैलेख, भदौ २८ गते । यहाँका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन्। जिल्लाको नारायण नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिका–८ ले सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। 

आइतबार नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार नारायण नगरपालिकाको विकासको मार्गमा अगाडि बढेको बताउनुभयो। उहाँले नारायण नगरपालिकालाई स्वच्छ, सुन्दर व्यवस्थित, विभेदरहित र सुशासनयुक्त पालिकाका रूपमा थप विकास गर्ने उद्देश्यलाई विशेष जोड गरिएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “नारायण नगरपालिकालाई विकास गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्रकारका योजना अगाडि सार्दै आवधिक योजना निर्माणमा लागिरहेका छौँ।” 

उहाँले सार्वजनिक गरेको एक सय दिनका उपलब्धिमा नगरवासीलाई खानेपानीको सुविधा प्रदान गर्न चालू आवको साउन महिनाबाट लागू गरिएको धारा जडान गर्न नसक्ने गरिब, असहाय नागरिकलाई निःशुल्क धारा जडान, दक्ष जनशक्ति उत्पादन गर्नका लागि नगर क्षेत्रभित्र रहेका सात जना विद्यार्थीलाई स्नातक तहको प्रविधि शिक्षा प्रदान, विद्यालयमा ल्याब व्यवस्थापन, शिक्षक दरबन्दी मिलान, हाम्रो नारायण हाम्रो पहिचान नामको स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण, प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ, गुनासो सुन्न चार अङ्कको टोलफ्री नम्बर सञ्चालनका लागि स्वीकृति, पालिकामा विगतमा भएका कामलाई चुस्तदुरुस्त बनाउनका लागि उपप्रमुखको संयोजकत्वमा स्रेस्ता रकम प्रमाणित कार्यदल निर्माण, पालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको संरक्षणलगायत रहेको बताउनुभयो। 

यस्तै सुरक्षित आवास कार्यक्रमअन्तर्गत १० जनाको घर निर्माण, २७ जना मेलमिलापकर्ताका लागि अनुशिक्षण, आधारभूत अस्पताल नारायण नगरपालिका–५ को त्रिवेणी स्वास्थ्य चौकीमा स्थापना गर्नका लागि आवश्यक प्रक्रिया पूरा, बर्थिङ सेवा सञ्चालन, पोषणमैत्री स्वास्थ्य घोषणालगायतका ३३ वटा उपलब्धि नगरपालिकाले सार्वजनिक गरेको छ। 

जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पनि एक सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गरेको छ। चामुण्डाबिन्द्रासैनीका नगरप्रमुख गणेशबहादुर शाहीले नौवटा उपलब्धि सार्वजनिक गर्नुभएको छ। उहाँले एक सय दिनमा ज्येष्ठ नागरिकलाई वडामै सामाजिक सुरक्षाभत्ता वितरण, गुनासो सुनुवाइका लागि टोलफ्री नम्बर, सुकुम्बासी समस्यालाई समाधान गर्न भूमि आयोगसँग सम्झौता, अस्थायी प्रहरी चौकीको स्थापना, शैक्षिक गुणस्तर सुधार गर्न नगर शिक्षा ऐन–२०७९ र नगर शिक्षा नियमावली–२०७९ निर्माण, सार्वजनिक सेवा प्रवाह, नगरप्रमुख नागरिक सुरक्षा कार्यक्रम, सहज रूपमा यातायात सञ्चालनलगायतका काम गरेको बताउनुभयो। 

त्यस्तै गुराँस गाउँपालिकाका–८ का वडाध्यक्ष दीपेन्द्र ओलीले एक सय दिनका उपलब्धि सार्वजनिक गर्नुभएको छ। उहाँले एक सय दिनमा १२ वटा काम सुरु गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। कृषि क्याम्पस धरम पोखराको नयाँ भवन निर्माणको काम सुरुवात, पुरानो भवन निर्माणको जिम्मेवार कम्पनीमा ताकेता, प्रहरी चौकी, लालीकाँडाको प्रशासनिक भवन निर्माण स्थल यकिन, मालिका माध्यमिक विद्यालयको नवनिर्मित ‘नेपाल भारत मैत्री भवन’ निर्माण सम्पन्न, कालिका माध्यमिक विद्यालयमा फर्निचर व्यवस्थापन, बैङ्कसम्म पुग्न नसक्नेका लागि वडा कार्यालयसम्म पनि पुग्न नसक्नेलाई घरमै सामाजिक सुरक्षा भत्ता, बालमैत्री स्थानीय शासन भएको वडा घोषणालगायतका काम गरिएको उल्लेख गरिएको छ।