• ४ जेठ २०८१, शुक्रबार

खोलामा पुल बनेपछि स्थानीय खुसी

blog

कपिलबस्तु नगरपालिका ६ स्थित रामजकिया खोलामा निर्माण गरिएको पुल । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, भदौ २७ गते । कपिलबस्तुको कपिलबस्तु नगरपालिका ६ र ९ जोड्ने रामजकिया खोलामा पुल बनेपछि स्थानीय खुसी भएको छन् । काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्दैआएका सगरहवावासीले अब रामजकिया खोलामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको बताएका छन् । 

वर्षातको समयमा खोलामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको स्थानीय सुरज थारुले बताउनुभयो । पुल बनेपछि बालबालिका विद्यालय पठाउँदा आवत–जावत गर्न अब धेरै सजिलो भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो “विद्यार्थीलाई मात्र होइन, खोला पारीका कृषकलाई पनि कृषि कार्य गर्न धेरै सजिलो भएको छ ।” पुल बनेपछि आवतजावतमा सजिलो मात्र होइन, कपिलबस्तु नगरपालिका ६ रामापुरका किसानलाई गाईबस्तु जङ्गलमा चराउन लैजान सजिलो भएको उहाँको भनाई छ । 

रामजकिया खोलामा पुल बनेपछि तिलौराकोट आउने पर्यटक सगरहवा (लम्बु सागर), निगालिकोट, अरौराकोट जगदीशपुर ताल पुग्न सजिलो भएको लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख माधवप्रसाद आचार्यले बताउनुभयो । 

निर्माण गरिएको रामजकिया खोलाको पुलको लम्बाई २५ मिटर छ । मूल्यअभिबृद्धि करसहित ३ करोड २८ लाख ३६ हजार ४ सय २६ रुपियाँ २ पैसामा सो पुल निर्माण गरिएको हो । 

निर्माण व्यवसायी कम्पनी एशियाटिक–हिमाल जे.भि नुवाकोट ६ अर्घाखाँचीले सो पुलको निर्माण गरेको सडक पुर्वधार कार्यालय कपिलबस्तुका प्रमुख हितेन्द्र रायमाझीले बताउनुभयो । २०७७ जेठ ३२ गते सम्झौता भएको सो आयोजनाको निर्माण कार्य २०७८ मङ्सिर २९ गते पुरा भएको थियो ।