• २५ पुस २०८१, बिहिबार

मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा छ : अध्यक्ष गोल्छा

blog

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा । फाइल तस्बिर

काठमाडौं, भदौ २७ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष गोल्छाले सो बताउनुभएको हो ।

लामो समयदेखि अर्थतन्त्रमा समस्याहरू आइरहेको र अहिलेको अर्थतन्त्रको अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने आवश्यक रहेको गोल्छाको भनाइ छ ।

अध्यक्ष गोल्छाले भन्नुभयो, ‘‘नेपालको अहिलेका आर्थिक स्थिति वा सूचकहरू चिन्तालाग्दो अवस्थामा छ । विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौँ । पछिल्लो अवस्था पनि चिन्तालाग्दो अवस्था नै छ । अहिले अर्थतन्त्रमा देखिएको समस्याको समाधान दीर्घकालीन मात्रै हुनसक्छ ।’’

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या आधारभूत भएको औँल्याउनुहुँदै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनका लागि केही महिना लाग्नसक्ने बताउनुभयो । उद्योग व्यवसायहरू फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘आधारभूत समस्यामा आएका छौँ । अर्थतन्त्रमा देखिको समस्याबाट बाहिर आउनको लागि केही महिना लाग्छ । उद्योग व्यवसायहरू चलेपछि मात्रै विज्ञापन व्यवसाय बढ्ने हो । उद्योग वाणिज्य महासङ्घको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई पनि फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्नेछ । जति उद्योग व्यवसाय फस्टाएर मुलुक समृद्धितर्फ जानसक्यो भने विज्ञापन बढ्ने कुरामा दुईमत छैन ।’’

उहाँले अर्थतन्त्र सङ्कुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत सङ्कुचनमा पर्ने बताउनुभयो । अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासङ्घको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो विस्तार हुन नसकेको जानकारी उहाँले दिनुभयो ।

अध्यक्ष गोल्छाले भन्नुभयो, ‘‘अर्थतन्त्र सङ्कुचन हुने अहिलेको अवस्था छ । उद्योग व्यवसाय र विज्ञापन व्यवसाय पनि सङ्कुचनमा छ । कोभिडका कारण विज्ञापन बजार पनि सोचेको जस्तो विस्तार हुन सकेको छैन ।’’

अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताउनुभयो । नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत छ । उहाँले कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरू दर्ता भएको बताउनुभयो । विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको अध्यक्ष गोल्छाको भनाइ छ ।