• १३ साउन २०८१, आइतबार

तिब्बतबाट च्याङ्ग्रा नआउने

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ २७ गते  । यस वर्षको दशैँमा चीनको तिब्बती क्षेत्रबाट हुम्लालगायत साबिक कर्णालीका हिमाली जिल्ला र सुदूरपश्चिम प्रदेशको बझाङ र बाजुराका लागि च्याङ्ग्रा नआउने भएका छन् । 

कोरोना महामारीका कारण हुम्ला जिल्लामा पर्ने तिब्बतका चारवटा नाका बन्द रहेका कारण च्याङ्ग्रा ल्याउन समस्या भएको हो । 

यतिखेर हिल्सा, लाप्चा, चुवाँखोला र ताँके नाकाबाट दशैँका लागि चीनको तिब्बती क्षेत्रबाट च्याङ्ग्रा आउन सुरु हुनुपर्ने हो । तर, अहिलेसम्म एउटा च्याङ्ग्रा पनि भित्रिएको छैन । यसअघि असार साउनमै आउनुपर्ने च्याङ्ग्रा पनि आएनन् । 

च्याङ्ग्रा व्यापारी स्याम्जोर लामाले हिल्सा र चुवाखोला नाकाबाट बढी च्याङ्ग्रा आउने गरेको भए पनि यस वर्ष नआएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीका कारण यी नाका चीनले बन्द गरेकाले च्याङ्ग्रा ल्याउन नसकिएको बताउनुभयो । उहाँले नाका बन्द नभएको भए यतिखेर तेस्रो लटका च्याङ्ग्रा भित्रिसक्ने बताउनुभयो । चीनको ताक्लाकोटबाट च्याङ्ग्रा नआउने भएपछि हुम्लावासीको दशैँ महँगो हुने भएको छ । स्थानीय खसीको मूल्य ३० हजार रुपियाँसम्म पर्छ जब कि तिब्बती च्याङ्ग्रा १० देखि २० हजार रुपियाँसम्ममा पाइन्थ्यो । स्थानीय खसीभन्दा च्याङ्ग्रा सस्तो र मासु पनि मिठो हुन्छ । 

अघिल्ला वर्षमा असारदेखि मङ्सिर महिनासम्म हुम्लामा चीनबाट आठदेखि १० हजार च्याङ्ग्रा भित्रिने गर्दथ्यो । हुुम्लाका व्यापारीको चार करोड रुपियाँसम्मको च्याङ्ग्रा व्यापार हुने गर्दथ्यो ।