• २४ पुस २०८१, बुधबार

मेरो पहिचान नेपाली भाषी : पवन चाम्लिङ

blog

काठमाडौँ, भदौ २६ गते ।  साहित्यकार एवं सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ ‘किरण’ले नेपाली साहित्य संस्कृतिको विकासमा पारिजातको नाम र काम अमर रहेको बताउनुभएको छ।

काठमाडौँस्थित पारिजात स्मृति केन्द्रले शनिबार आयोजना गरेको पारिजात विशिष्ट सम्मान कार्यक्रममा बोल्दै उहाँले पारिजातले नै नेपाली आधुनिक साहित्यको जग हालेको बताउनुभयो।

उहाँले स्वार्थ र प्रलोभनमा लोभिने संस्कृतिसँग पारिजातको सिद्वान्त तथा साहित्य कहिले नझुकेको बताउँदै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि विश्वभरका नेपाली भाषी पारिजातले देखाएको बाटोमा हिँड्नु पर्नेमा जोड दिनुभयो।  

पारिजातले नेपाली भाषा–साहित्यको उत्थान र संवद्र्धनमा साहित्यिक लेखनका माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले नारी शक्तिका रूपमा सिर्जना भएका पारिजातका कृतिले स्रष्टा र सर्जकलाई साहित्य मार्गमा डो-याउन सहज बनाएको बताउनुभयो।

उहाँले भन्नुभयो, “सिक्किम सरकारले नेपाली भाषा, साहित्य, धर्म, संस्कृतिको विकासका लागि मात्रै काम गरेको छैन। पारिजातकै प्रेरणाबाट नारी क्षमताको विकासका लागि समेत विभिन्न योजना अघि बढाएको छ।” 

साहित्यकार चाम्लिङले आफू भारतीय नागरिक भए पनि आफ्नो पहिचान नेपाली भाषीका रूपमा परिचित रहेकाले सिक्किममा राजनीति गरे पनि आफू नेपाली साहित्यकार र नेपाली जनताको माझमा रहिरहने बताउनुभयो। सो कार्यक्रममा उहाँलाई पारिजात विशिष्ट सम्मानबाट सम्मानित गरिएको थियो। पारिजात स्मृति केन्द्रकी संरक्षक सुकन्या वाइवाले चाम्लिङ बहुआयामिक व्यक्तित्वको धनी भएको बताउँदै भारतमा बसेर पनि नेपाली भाषा, संस्कृतिको सम्मानका लागि उहाँले गरेको योगदानबारे चर्चा गर्नुभयो।

त्यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायले राजनीति तथा भूगोलको सीमाले नेपाल र सिक्किम दुई देश भए पनि भाषा, धर्म र संस्कृतिमा एउटै भूमि रहेको बताउनुभयो। 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले सिक्किममा जन्मेर पनि नेपाली भाषा, साहित्यको विकास र विस्तारमा चाम्लिङले निर्वाह गर्नुभएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।