• ११ मंसिर २०८१, मङ्गलबार

चार दशक बित्दा पनि बुधबारे बजार उस्तै

blog

नारायणकुमार राई

धनकुटा, भदौ २५ गते । सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदरमुकामबाट सुदूरपूर्वमा रहेको छ नं बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन ।

त्यही सहरको ४४ किमी पूर्वमा रहेको भेडेटार बजारलाई सडक सञ्जालले छोएको ४६ वर्षमा पूर्वको प्रमुख पर्यटकीय गन्तव्य र महँगो पर्यटकीय नगरी पनि बन्यो । तर, तीन वर्षपछि सडक सञ्जालले छोएको धनकुटा, पाँचथर र मोरङको सङ्गममा रहेको बुधबारे बजारको अवस्था चार दशक बितिसक्दा पनि उस्तै छ ।

जिल्लाको सदरमुकामबाट ८० किमी दक्षिण–पूर्व र भेडेटारबाट ४४ किमी पूर्वमा रहेको यो बजार साबिक ६ नं बुधबार गाविस हाल चौबिसे गाविसको वडा नं १ मा पर्दछ । हाल एक सय ५० घरधुरी रहेको उक्त बजार आधा धनकुटा र आधा पाँचथरमा रहेको छ । यो बजार इलाम, पाँचथर, धनकुटा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानबाट सुनसरी, मोरङ र झापा जिल्ला जाने सङ्गमस्थल पनि हो ।

यो बजार पूर्व–पश्चिम महेन्द्र राजमार्गको कानेपोखरी९मोरङ०बाट ३५ किमीको दूरीमा पर्छ भने भेडे टार सोही राजमार्गको इटहरी ९सुनसरी०बाट ३३ किलोमिटरको दूरीमा रहेको छ । विसं २०३३ मा तत्कालीन राजा महेन्द्रले धरान धनकुटा ५२ किमी कोसी राजमार्गको शिलान्यास गरेपछि भेडेटारलाई सडक सञ्जालले छोएको थियो । उता पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले आफू प्रधानमन्त्री भएको समयमा २०३६ सालमा लेटाङ–६ नं बुधबारे सडकको शिलान्यास गरी कच्ची सडक विस्तार गर्नुभएको थियो ।

विसं २०३८ मा कालोपत्रे भएको भेडे टार २०५२ सालको माओवादी सशस्त्र द्वन्दका कारण केही समय सुनसान भए पनि २०६४ साल पछि पर्यटकको भीड बढेर समृद्ध बन्यो । अहिले भेडे टार र आसपासका क्षेत्रमा चिसो वातावरण र प्राकृतिक दृश्यपान गर्न पूर्वी तराई र विहार, उत्तर प्रदेश, पश्चिम बङ्गाल क्षेत्रका भारतीय पर्यटक र सवारीको घुइँचो लाग्ने गर्दछ तर उति नै दूरीमा रहेको उस्तै वातावरण र पर्यटकीय गन्तव्य भएको बुधबारे बजार भने दिगो सडक सञ्जाल नहुँदा लामो समयदेखि आज पनि ग्रामीण बजारकै रूपमा रहेको छ ।

विसं २०३६ मा लेटाङ–बुधबारे सडक शिलान्यास पछि सडक निर्माणमा काम गर्नुभएका सोही बजारका ५२ वर्षीय आनन्दकुमार श्रेष्ठले अहिले पनि बाटो पहिलेकै अवस्थामा भएकाले बजारको विकास हुन नसकेको बताउनुभयो । “बर्खाले बाटो बगाएर अहिले पनि मान्छे हिँड्ने बाटो खनेर हिँड्नुपर्छ”, श्रेष्ठले भन्नुभयो, “कालोपत्रे नभएसम्म बाटोको अवस्था उस्तै हो ।” यस सडकको सुधार र स्तरोन्नतिका लागि नेपाल सरकार तथा विभिन्न दातृ निकायले सकम खर्च गरे पनि सडकको अवस्था झन् बिग्रिएको वडा अध्यक्ष देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

पटक–पटक स्तरोन्नति गरे पनि सडक चुरे क्षेत्रमा रहेकाले हरेक वर्ष बर्खाको बाढीले बगाएर बाटो नै हराउने गरेकाले बजार प्रभावित हुँदै आएको उहाँले जानकारी दिनुभयो । “कालोपत्रे नगरुन्जेल बाटोमा गाडी चल्न सक्ने अवस्था नै छैन । पहुँच नभएका हामीजस्ताको मार्का कसले बुझ्ने ?” श्रेष्ठले दुःखेसो गर्नुभयो । बजार उत्थानका लागि बाटोलाई कालोपत्रे गर्न केन्द्रमा हरेक वर्ष दुई–तीन पटक धाए पनि सबैले हुन्छ भनेर कसैले सहयोग नगरेको श्रेष्ठले गुनासो गर्नुभयो ।

जति स्तरोन्नति गर्‍यो त्यति बिग्रने उक्त सडक पहिला केही राम्रो हुँदा यहाँ लाग्ने साप्ताहिक बजारमा मोरङका व्यापारीले भरिभराउ हुने गरे पनि अहिले एक जना पनि आउने नगरेको सोही बजारका राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिले उक्त स्थान भएर जाने निर्माणाधीन भेडे टार–रवी–राँके राजमार्ग अवरुद्ध भइरहने भएकाले हरेक दिन जमघट हुने बुधबारे बजार थप सुनसान भएको उहाँले दुखेसो गर्नुभयो ।

धेरै भू–भाग मोरङ जिल्लामा पर्ने भएकाले आफूहरूले कालोपत्रेका लागि मोरङका सांसदसँग पहल गरिरहेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो ।

“कालोपत्रेका लागि बजेट परेर शिलान्यास हुन लागेको जानकारी आएको छ”, लिम्बूले भन्नुभयो । दिगो सडक नहुँदा हाल यस बजार हुँदै धनकुटा, पाँचथर र इलामबाट मोरङ, सुनसरी र झापासम्म ठूला सवारी नचल्ने तर महँगो भाडा लिएर साना जिप मात्र जोखिम मोलेर जानेगरेका छन् । बजारबाट ३० किमी लेटाङ जान प्रतिव्यक्ति रु सात सय ५० भाडा लिने गरिएको छ ।

बाटोमा पहिरो झरिरहने जोखिमका साथै अत्यधिक सामान टुटफुट हुने गरेकाले भाडा महँगो लिनुपरेको १९ वर्षदेखि जिप चलाउँदै आउनुभएका मे१ज ७१९ का ४० वर्षीय चालक विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

निकट भविष्यमा महेन्द्र राजर्मागको मापदण्डमा कालोपत्रे हुन लागेको भेडे टार–रवी–राँके सडक निर्माण पूरा भई लेटाङबाट बजार–बुधबारेसम्म कालोपत्रे भएमा यस क्षेत्रको द्रुत गतिमा विकास हुने देखिन्छ ।

बजारको शिरमा दार्जिलिङको टाइगरहिलभन्दा मौसम सफा रहने दुई हजार ५०० मिटर अग्लो मिक्लाजुङ डाँडा र आधा दर्जन जति प्रवर्द्धनका पर्खाइमा रहेको ताल, सिमसार र झरना रहेका छन् । सडक पहुँच नहुँदा महेन्द्र राजमार्गबाट ३५ किमी उत्तरमा रहेको यस क्षेत्रलाई छाडेर यहाँबाट पश्चिममा रहेको भेडेटारमा करिब ७० किमीभन्दा बढीको दूरी पार गरेर पश्चिमी क्षेत्रका भारतीय पर्यटक जानेगरेका छन् ।