काठमाडौँ, भदौ २५ गते । चाडपर्वमा उपभोग्य सामग्रीको माग बढी हुने गरेकाले आयात पनि धेरै हुने गरेको छ तर यस वर्षको चाडपर्व लक्षित आयात भने घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनमा कुल आयात १३ करोड १२ लाख रुपियाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै १३ प्रतिशतले कम हो । आव २०७८/७९ मा १५ करोड सात लाख रुपियाँको आयात भएको थियो ।
यसैगरी आव २०७८/७९ मा साउन र भदौमा ३१ करोड ४५ लाख १७ हजार रुपियाँको आयात भएको थियो । आव २०७७/७८ मा १७ करोड ८८ लाख ४६ हजार रुपियाँको आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ७६ प्रतिशतले वृद्धि भएको थियो ।
आयात घटेका कारण विभिन्न भन्सार नाकाले हालसम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेका छैनन् ।
राजस्व सङ्कलन प्रभावित
सरकारले केही वस्तुको आयातमा कडाइ गरेसँगै ती वस्तुको आयातमा कमी आएको छ । यसको प्रत्यक्ष असर भन्सार राजस्व सङ्कलनमा परेको छ । विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवालगायतका मुख्य भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेका छैनन् । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउनमा लक्ष्यको ८१ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । तीन अर्ब ६४ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य पाएको यो कार्यालयले साउनमा दुई अर्ब ९५ करोड रुपियाँ मात्रै सङ्कलन गरेको हो ।
यसैगरी भदौमा चार अर्ब ७६ करोड रुपियाँको लक्ष्य रहेकोमा ६५ प्रतिशत मात्रै राजस्व सङ्कलन हुने विराटनगर भन्सार कार्यालयले जनाएको छ । दैनिक १६ करोड पाँच लाख रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने यो भन्सार कार्यालयले भदौमा दैनिक आठ करोड रुपियाँको हाराहारीमा मात्रै सङ्कलन गरिरहेको छ ।
सुनसरीको भन्टाबारीबाट रि–रुट पैठारी गर्नुपर्ने बाध्यताले प्रभाव पारिरहेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाको दाबी छ ।
यसैगरी आयातमा कमी आएका कारण वीरगञ्ज भन्सार कार्यालयले पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले विगतमा चाडपर्वमा विशेषगरी तयारी कपडा, खेलौना, मोटरसाइकल, कार/जिप/भ्यान धेरै आउने गरेकोमा यस वर्ष घटेको जानकारी दिनुभयो ।
वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षको साउन महिनामा ५० करोड ६५ लाख १६ हजार रुपियाँ बराबरको तयारी कपडा आयात भएकोमा चालू आर्थिक वर्षको साउन महिनामा ३८ करोड ९६ लाख ६४ हजार रुपियाँको मात्रै आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । तयारी कपडा आयात गत वर्षको साउन महिनाको तुलनामा यस वर्ष ४१ प्रतिशत कम आयात भएको छ ।
त्यस्तैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७९/८० को साउन महिनामा मोटरसाइकल आयात ६७ प्रतिशत र कार/जिप/भ्यान ८५ प्रतिशत घटेको छ । खेलौना आयात बढेको छ भने मदिरा आयात नभएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । अघिल्ला वर्षमा साउन महिनामा मोटरसाइकल, कार/जिप अनि मदिरा आयात बढी हुने गथ्र्याे । वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले पनि यस वर्ष चाडपर्व लक्षित सामग्रीको आयात घटेको जानकारी दिनुभयो ।
अर्को मुख्य नाका बेलहियाबाट हुने आयात पनि घटेको छ । अघिल्लो वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा करिब ४० प्रतिशत आयात घटेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले बताउनुभयो ।
दैनिक पाँच सय मालवाहक गाडी जाँचपास हुँदै आएको भैरहवा भन्सार कार्यालयमा अहिले दुई सयको हाराहारीमा मात्रै आउने गरेका छन् । आयात घट्दा यसको असर राजस्व सङ्कलनमा परेको छ ।
चालू आर्थिक वर्षको साउनमा बेलहिया नाकाबाट पाँच अर्ब ३८ करोड ४६ लाख ८८ हजार रुपियाँ बराबरको सामान आयात भएको छ । गत वर्षको साउन महिनामा आठ अर्ब ८३ करोडको मालवस्तु आयात भएको थियो ।
गत वर्ष दुई अर्ब ४० करोडको मोटरसाइकल आयात भएकोमा चालू आर्थिक वर्षको साउन महिनामा एक अर्ब २६ करोड ८६ लाख आठ हजार मूल्य बराबरको मोटरसाइकल आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । पेट्रोलको आयात भने करिब १० करोड रुपियाँले बढेको छ ।
भैरहवा भन्सार कार्यालयले आठ महिनायता राजस्व सङ्कलनको लक्ष्य भेटाउन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो महिनामा पनि लक्ष्य भेटाउन सकेन । यो कार्यालयले ७० दशमलव ९८ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले यस भन्सार कार्यालयलाई साउन महिनाका लागि नौ अर्ब १४ लाख दुई हजार लक्ष्य दिएकोमा छ अर्ब ३८ करोड ९३ लाख ४४ हजार रुपियाँ मात्रै सङ्कलन गरेको सूचना अधिकारी पासवानले बताउनुभयो ।
यसैगरी आयात घटेका कारण नेपालगञ्ज भन्सार कार्यालयले राजस्व सङ्कलनको लक्ष्य भेटाउन सकेको छैन । नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत प्रवीण लिम्बूले गत आर्थिक वर्ष लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको जानकारी दिँदै चालू आर्थिक वर्षको साउन महिनामा पनि ७५ प्रतिशत मात्र असुली भएको बताउनुभयो ।
फस्टायो अवैध व्यापार
सरकारले केही वस्तुको आयातमा कडाइ गरेका कारण ती वस्तुको आयात र समग्र भन्सार राजस्व सङ्कलनमा असर परेको हो तर अवैध व्यापारका कारण पनि राजस्व असुली घटेको गुनासो सम्बद्ध व्यक्तिको छ । खुला सिमानाकाबाट हुने अवैध पैठारीले भन्सार राजस्वलाई प्रभावित बनाइरहेको विराटनगरका भन्सार प्रमुख सापकोटाले बताउनुभयो । भारतसँग एलसी खोलेर मात्रै सामान ल्याउन पाउने प्रावधानका कारण वैधानिक बाटोबाट हुने व्यापार बन्द जस्तै भएको उहाँको भनाइ छ । प्रमुख सापकोटाले भन्नुभयो, “भारतबाट आउने सामान भन्सारको बाटोबाट प्रवेश भएका छैनन्, विराटनगरका बजारमा भारतमा उत्पादन भएका सामानको अभाव पनि छैन ।”
मोरङ प्रहरीको तथ्याङ्कअनुसार चालू वर्षको साउन र भदौ २० गतेसम्म भन्सार कार्यालयमा ३८ लाख ८३ हजार ४०५ रुपियाँ बराबरको अवैध ढङ्गले भिœयाइएको सामान दाखिला भएको छ ।
वारि सुनसान, पारि चहलपहल
खुला सिमानाकामा कडाइ नहुँदा नेपाली उपभोक्ता उपभोग्य सामान खरिदका लागि भारतीय बजारमा जाने गरेका छन् । यो चाडपर्व आउँदा झन् धेरै हुन्छ । नेपालगञ्ज बजारभन्दा पारिपट्टिको रुपैडिहा बजारमा चहलपहल धेरै छ । भारतको रुपैडिहाका अधिकांश पसल अहिले नेपाली उपभोक्ताले भरिभराउ छन् ।
रुपैडिहाका व्यवसायी ओमकार वैश्यले व्यापार तेब्बरभन्दा बढी भएको बताउँदै नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाउँ र दाङ तथा सुर्खेतसम्मबाट खरिदारीका लागि नेपाली उपभोक्ता आइरहेको बताउनुभयो ।
दशैँ नजिकै आउन लागे पनि अझै बजारमा धेरै ग्राहक नदेखिएको नेपालगञ्ज सदरलाइनका कपडा व्यवसायी केदार गुप्ताले बताउनुभयो । सोही प्रकारको भनाइ नगरका अधिकांश व्यवसायीको छ । उता नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले भने भन्सारले राजस्व सङ्कलनमा कडाइ नगरेकाले नेपालगञ्जको व्यवसाय सुक्दै गएको जनाएको छ ।
रुपैडिहामा नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि अन्य समयमा दैनिक तीन करोड रुपियाँ र चाडपर्वका बेला दैनिक पाँच करोड रुपियाँभन्दा बढीको खरिद हुने गरेको नेपाली व्यापारीको अनुमान छ ।
(नवराज कट्टेल/रङ्गेली, लक्ष्मण पौडेल/भैरहवा, दीपकप्रसाद गौतम/ वीरगञ्ज र सिरज खान/नेपालगञ्जको सहयोगमा)