• ११ मंसिर २०८१, मङ्गलबार

दुर्गालाई व्यवसायी बन्न छेकेन अपाङ्गताले

blog

कञ्चनपुर, भदौ २४ गते । शुक्लाफाँटा नगरपालिका –२ लक्ष्मीपुरकी ३३ वर्षीया दुर्गा चौधरीलाई शारीरिक अपाङ्गता छ । उहाँको कम्मरमुनिको भाग चल्दैन ।

तीन वर्षको उमेरमै पक्षघात भएर चौधरीको कम्मरमुनिको भाग चल्न छाडेको हो । शारीरिक अपाङ्गताकै कारण उच्च शिक्षा पढ्ने धोको उहाँको पूरा हुन सकेन । गाउँ नजिकैको विद्यालयबाट उहाँले ५ कक्षासम्मको पढाइ गर्नुभएको छ । पाँच कक्षामाथि पढ्नका लागि गाउँ नजिकैको सनवोरा नदी तर्नु पर्दथ्यो । ह्विलचियर गुडाएर नदी तरेर टाढाको विद्यालय पुग्न सम्भव थिएन । त्यै भएर उहाँको उच्च शिक्षा पढ्ने धोको पूरा हुन सकेन ।

“विद्यालय जाँदासमेत साथीसङ्गीले गाई गोरुजस्तै हिँड्छौँ, जीवनमा के नै गर्न सक्छौँ भनेर नराम्रो तरिकाले जिस्क्याउँथे”, विगत सम्झँदै उहाँले भन्नुभयो, “त्यसको प्रवाह गरिन, उच्च शिक्षा पूरा गर्ने सपना पूरा नभए पनि निराश भइन, समाजकै अगाडि केही गरेर देखाउने दृढ सङ्कल्पमा अडिग थिए, अवसरको खोजीमा थिए, परिवारका लागि बोझ नभएर सहारा बन्ने धोको थियो ।”

विसं २०६४ मा गैरसरकारी संस्थाको सहयोगमा दुर्गाले छ महिने सिलाई कटाइ गर्ने तालिम लिनुभयो । तालिम पाएपछि उहाँको दिनचर्या नै फेरिएको छ । तालिम लिएपश्चात् संस्थाले उपलब्ध गराएको हाते सिलाइ गर्ने मेसिनले उहाँले गाउँघरमै सिलाइको कार्य गरी कमाइ गर्दै आउनुभएको थियो । त्यसै क्रममा सङ्घ संस्थाले सञ्चालन गर्ने सिलाई कटाइ तालिममा सुरुमा सहायक प्रशिक्षकका रूपमा काम दिन्थे ।

“त्यसबाट आउने पारिश्रमिकले घरको खर्च चलाउन सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “सिलाई कटाइमा एक लेवलको परीक्षा पास गरेपछि प्रमुख प्रशिक्षका रूपमा नगरपालिकाबाट सञ्चालन हुने तालिममा अब काम पाइन थालेको छ ।” सिलाई कटाइको दोस्रो लेवलको परीक्षा पास गर्ने उहाँको धोको छ । तालिम सञ्चालन गरेबापत उहाँले रु ३० हजारदेखि रु ४५ हजारसम्म पारिश्रमिक बुझ्ने गर्नुभएको छ । तालिम दिने कार्यसँगै उहाँले शुक्लाफाँटा–५ वन समिति बजारमा रु दुई लाख लगानी गरी सिलाई कटाइ गर्ने पसल सञ्चालन गर्नुभएको छ । पसलमा पैसा तिरेर सिलाई कटाइ सिक्ने आउने गर्दछन् ।

दैनिक दुई घण्टा सिलाई कटाइ सिक्नेबाट उहाँले मासिकरुपमा रु एक हजार शुल्क लिने गर्नुहुन्छ । दुर्गाको पसलमा अहिले सिलाई कटाइको चार जनाले प्रशिक्षण लिइरहेका छन् । दुर्गाले कपडा कटिङ गर्ने कार्यसँगै जेन्सले लगाउने कमिज, पाइन्ट, कोट र लेडिजले लगाउने ब्लाउज, पेटिकोट, सलवार, कुर्तालगायत सिलाइ गर्नुहुन्छ । भनेकै समयमा कपडा सिलाइ गरी दिने र चाहेकै डिजाइनमा कपडा सिउने भएकाले दुर्गाको पसलप्रति ग्राहकको विश्वास बढ्दोरुपमा रहेको छ ।

“तालिम सञ्चालन भएका बेला प्रशिक्षकका रूपमा कार्य गर्छु”, उहाँले भन्नुभयो, “बाँकी समय पसलमै कपडा सिउने कार्यमा खर्चिने गर्दछु, कपडा सिलाइ गरेबापत दैनिक रु दुई हजारदेखि रु चार हजारसम्म कमाइ हुन्छ, सिजनमा त्योभन्दा दोब्बर तेब्बर बढी कमाइ हुन्छ ।” परिवारमा एक्लो कमाउने दुर्गा नै हुनुहुन्छ । परिवारको पुरै खर्च उहाँले नै बहन गर्दै आउनुभएको छ ।

“बुबा, आमा र भाइको खर्च मैले नै बेहोर्छु”, उहाँले भन्नुभयो, “शारीरिक अपाङ्गता भएपछि परिवार निकै तनावमा हुन्थे, तालिम लिएर सिलाई कटाइको कार्य गर्न थालेपछि परिवार पुरै खुसी छ, दिनभरि सिलाइ गरेर आएको पैसा आमाको हातमा राखिदिन्छु, उहाँले आँसु झार्नुहुन्छ, भन्नुहुन्छ, हामीले छोरा नै पाएका छौँ, तिमी छोरी हैन छोरा नै हो ।” घरका लागि आवश्यक सामान खरिद गरेर दुर्गाले नै लग्ने गर्नुहुन्छ ।

पसलको भाडा तिरेर बाँकी रकम आमालाई बुझाउने गरेको उहाँ बताउनुहुन्छ । गाउँकै समूहमा भविष्यका लागि दुर्गाले रकम बचतसमेत गर्दै आउनुभएको छ । समूहमा उहाँको रु एक लाख बढी रकम बचत रहेको छ । विगतको जस्तो अहिले सनवोरा नदीसमेत तर्नुपर्दैन । नदीमा पक्की पुल निर्माण भएपछि दुर्गा दैनिक घरबाटै सडकमा ट्राई साइकल गुडाएर सात किलोमिटरको यात्रा तय गर्दै पसलसम्म पुग्नुहुन्छ ।

“घाम पानी जे भए पनि दैनिक ट्राई साइकल गुडाएर पसलमा पुग्छु”, उहाँले भन्नुभयो, “अब बानीनै परिसक्यो, जीवनसँग सङ्घर्ष गर्न सिकेको छु, त्यसैले पसल सञ्चालन गर्न सक्षम भए ।” दुर्गाका बुबा जग्गुराम चौधरी छोरीको सङ्घर्ष देखेर दङ्ग हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “शारीरिक अपाङ्गता भएको छोरीले जीवनमा सङ्घर्ष गरी व्यवसायी होला भनेर सोचेका थिएनौँ, गरेर देखाएकी छ, यसमै हामी सन्तुष्ट छौँ, अपाङ्गता भएपछि यसको भविष्य के होला भनेर सोच्थ्यौँ, कमाइ गर्न थालेपछि ढुक्क छौँ, अब चिन्ता छैन ।”

दुर्गाले एक लेवलको कक्षा पास गरे पनि दुई लेवलको कार्य गर्न समक्ष भएको नगरपालिकाको उद्योग शाखाका प्रमुख धनबहादुर चौधरीले बताउनुभयो । “दोस्रो लेवलको परीक्षामा सहभागी गराउनका लागि प्रयास गर्छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाबाट सञ्चालन हुने तालिममा प्रशिक्षकका रूपमा दुर्गालाई नै लिँदै आएका छौँ ।”