• १३ जेठ २०८१, आइतबार

मधेश विश्वविद्यालयको उदघाटन

blog

मधेश विश्वविद्यालयको स्थापना सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउत । तस्बिर : दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम

वीरगञ्ज, भदौ २३ गते । मधेश प्रदेश सरकारले वीरगञ्जमा मधेश विश्वविद्यालयको स्थापना गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संयुक्त रुपमा बिहीबार उदघाटन गर्नुभएको हो ।

वीरगञ्जको नेशनल ट्रेडिङ कम्पनीको भवनमा स्थापना गरिएको मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयको बिहीबार उदघाटन गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री राउतले वीरगञ्जमा विश्वविद्यालय स्थापना गर्ने २०५४ देखिको वीरगञ्जवासीको सपना प्रदेश सरकारले पूरा गरेको बताउनुभयो । 

सम्बोधनका क्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेश प्राबिधिक शिक्षाको हब बन्नुपर्ने बताउनुभयो । मधेशबाट अदक्ष कामदार बिदेशिएको जनाउँदै उहाँले बिदेशिने कामदारलाई दक्ष बनाउन प्राबिधिक शिक्षा आवश्यक रहेको चर्चा गर्नुभयो । दक्ष कामदार बिदेश गएमा रेमिटान्स बढ्ने उहाँको भनाइ छ ।  

स्थानीयको गन्ध आउनेगरी पाठ्यक्रम बनाएर अगाडि बढन सल्लाह दिंदै मुख्यमन्त्री राउतले कठिन अवस्थामा प्रदेश सरकारले मधेश विश्वविद्यालय स्थापना गरेको बताउनुभयो ।  सुरुका दिनहरुमा यस विश्वविद्यालयसँग अवसर एवम् चुनौती दुबै रहेको उहाँले दाबी गर्नुभयो । 

विश्व विद्यालयका नवनियुक्त उपकुलपति डा. दिपक शाक्यले अहिले अन्य विश्व विद्यालयमा चलिरहेकोभन्दा फरक विषयहरु मधेश विद्यालयको रहने बताउनुभयो । विश्वविद्यालय एक सय बिघा जग्गामा निर्माण गरिने त्यसका लागि जग्गाको खोजी भइरहेको उहाँले बताउनुभयो ।   

प्रदेश सरकारका समाजिक विकासमन्त्री एवम् मधेश विश्वविद्यालयका सहकुलपति नवलकिशोर साहको अध्यक्षतामा सम्पन्न स्थापनासभामा संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, कृषि विश्वविद्यालयका भाईस चान्सलरलगायतका विज्ञहरुको सहभागिता रहेको डा. शाक्यले जानकारी दिनुभयो ।