उसले पहाडमाथि हैकम जमायो
उधिन्यो धेरैको घरबास
र, आफूलाई सम्पन्न बनायो
आलिशान महल ठड्यायो
आफ्नै नामको सहर बसायो
अघिअघि आफू
र, पछिल्तिर
आशाको पासोमा बाँधिएकाहरूको
ला..मै लस्कर लगायो
मान्छे न हो
उसलाई लाग्यो–
उचाइको सिङ्गै आकाश
अब उसको पैताला मुन्तिर आयो
सायद ठिकै भन्थे पुर्खाले–
सत्य, सधैँ एउटै वृत्तमा नघुम्ने सत्य
मान्छे मात्रका लागि
कहिल्यै नसिद्धिने खुसी हो
नभन्दै भयो पनि त्यस्तै
कुनै एक दिन
आफ्नै घरपरिसरमा बनाएको
पोखरीको डिलमा टहलिँदै गर्दा
पानी छायाँमा
जब उसले आफ्नो अनुहार देख्यो
खङ्ग्रङ्ग !
ऊ तालुदेखि पैतालासम्म एकैचोटि सुक्यो
तिर्मिराएको मस्तिष्कले आँखा मिच्दै
फेरि हे-यो, हेरिरह्यो
जति हेरे पनि यसबेला उसको अनुहार
पानीको सतहभन्दा पनि तल थियो !