• ११ पुस २०८१, बिहिबार

ढाकाले फेरिदियो जीवनस्तर

blog

ठाकुर सेनेहाङ

तेह्रथुम, भदौ २३ गते । सामान्य परिवारमा जन्मिनुभएका लालीगुराँस नगरपालिका सोल्माकी सिर्जना तेयुङलाई सानैदेखि सीपमूलक काम सिक्ने इच्छा थियो । कमजोर आर्थिक अवस्थाकी तेयुङ सानोमा विद्यालय आउजाउ गरिरहँदा पनि तस्बिर कोर्ने र विद्यालय छेउका घरमा महिलाले ढाका कपडा बुनेको हेर्ने गर्नुहुन्थ्यो । ढाका बुनिरहेका महिलासँग कहिलेकाहीँ उहाँ सीप सिकाइदिन अनुरोध पनि गर्नुहुन्थ्यो ।

बाल्यकालको उहाँको त्यो चासो अहिले व्यावसायिक कर्म बनेको छ । उहाँले अहिले म्याङ्लुङ बजारमा आफ्नै ढाका कपडा उद्योग सञ्चालनमा ल्याउनुभएको छ । आफ्नो उद्योगमा ३५ जनालाई रोजगारी दिनुभएकी उहाँ अहिले म्याङ्लुङमा सफल उद्यमीका रूपमा परिचित हुनुहुन्छ । उहाँको यो सफलताको पछाडि घरेलु तथा साना उद्योग विकास समिति र सहयोगी संस्था मेडेपको प्राविधिक सहयोगमा सञ्चालित ढाका कपडा बुनाइसम्बन्धी तीनमहिने तालिम महत्वपूर्ण कारण बनेको छ । २०५७ सालमा लिएको त्यही तालिमले उहाँको जीवनस्तर फेरिएको हो । 

तालिममा सहभागीमध्ये उत्कृष्ट हुनुभएकी तेयुङलार्ई घरेलुबाट केही इनाम मिलेपछि त्यही आत्मविश्वासले आत्मर्नभर बन्ने बाटो खुल्यो । तीनमहिने सिकाइबाट उहाँले ढाका कपडाबाट तयार हुने पछ्यौरी, सर्ट, चौबन्दी, साडी, गलबन्दी, स्कार्फ, टाई, कोट, ब्लाउज, रुमाल, बर्को, हाते झोलालगायत विभिन्न किसिमका सामग्री तयार गर्न सिक्नुभयो । आफ्ना उत्पादनले बजारबाट राम्रो प्रतिक्रिया पाउन थालेपछि २०६६ सालमा उहाँ आफैँले ढाका कपडा उद्योग दर्ता गरेर व्यावसायिक ढाका कपडा उत्पादनको सुरुवात गर्नुभयो ।

उद्योगबाट मासिक बचत पनि रामैै्र हुन थाल्यो । ढाका बुनाइको सीपमा पनि वृद्धि भएपछि आकर्षक कपडा बुन्ने भएकाले बजारको कुनै समस्या भएन । उद्योगबाट अहिले मासिक एकदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । 

ढाका कपडा व्यावसायिक रूपमै बुनिरहेका महिला उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेको ढाकाको आकर्षक डिजाइन, कपडाको रङ, बुट्टा, बजार व्यवस्थापन र मूल्य निर्धारणलगायत विषयमा सीप सिकेपछि अरू महिलालाई पनि सिकाएको उहाँ बताउनुुहुन्छ । ढाका कपडाको व्यवसायमा बढ्दो आकर्षणकै कारण अहिले जिल्लामा करिब पाँच हजार ढाका उद्यमी रहेका छन् । जिल्लाभर तीन दर्जन ठूला ढाका उद्योग र अन्य दुई हजारभन्दा बढी घरेलु ढाका उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग विकास अधिकृत नवीन पौडलले बताउनुभयो ।

तेह्रथुममा तयार भएका ढाकाका सामग्री नेपालका विभिन्न स्थान तथा भारतको सिक्किम, दार्जिलिङ, कोलिम्पोङलगायत सिङ्गापुर, हङ्कङ, यूके, अमेरिका, बेलायत, जापानसम्म निर्यात हुने गरेको छ ।