• ११ पुस २०८१, बिहिबार

किसानकै पहलमा स्याउ उत्सव

blog

विष्णुप्रसाद देवकोटा 

डोल्पा, भदौ २३ गते । ठूलीभेरी नगरपालिका–१, डोल्पाका दशरथ रोकायाले जिल्लामा पहिलो पटक स्याउ उत्सवको आयोजना गर्नुभएको छ । बेगी स्याउ तथा फलफूल उत्पादन उद्योगमार्फत स्याउ उत्पादनमा लाग्नुभएका किसान रोकायाले स्याउको प्रवद्र्धन गर्ने उद्देश्यसहित एकल प्रयासमा सो उत्सव आयोजना गर्नुभएको हो । 

उहाँले प्रचारप्रसार र पहिचानका लागि अर्काको मुख ताकेर बस्नुभन्दा आफैँले केही गर्नुपर्छ भनेर यो कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । कृषक रोकायले स्याउका तीन सय बिरुवा लगाउनुभएको छ । 

यतिखेर त्रिपुरासुन्दरी नगरपालिका–४, रङ्ग ठूलीभेरी नगरपालिका–१, थाला जुफाललगायतका गाउँ स्याउले रङ्गिएका छन् । यहाँका स्याउ कृषक गाउँमा पुग्ने आगन्तुकलाई सत्कार स्वरूप टन्न स्याउ खान दिने र फर्कंदा स्याउको उपहारसहित पठाउने गरेको जनाएका छन् ।

यस पटक विगतको तुलनामा धेरै स्याउ फलेको छ । रङ्ग गाउँका कृषकको फारममा फलेको स्याउ नेपालकै स्वादिष्ट र गुणस्तरीय पनि मानिन्छ । डोल्पामा विशेषगरी ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफाल, डाँगीवाडा, लोचा, तिप्ला र त्रिपुरासुन्दरी नगरपालिकाको रङ्ग, सुउँ र जिऊ गाउँमा स्याउको व्यावसायिक खेती गरिँदै आएको छ ।

यत्तिखेर लटरम्म स्याउको हाँगो नै झुकाएर फलेका रोयल जातको स्याउ पाकेर रङ्गेली स्याउ कृषकलाई टिप्न भ्याइनभ्याइ छ । गोल्डेन जातको स्याउ पाक्ने तयारीमा छ । रङ्ग गाउँकी कमला बुढा विगतको तुलनामा धेरै स्याउ फलेको बताउनुहुन्छ । तर, बजार अभावमा फारममै झरेर कुहिन थालेको उहाँको भनाइ छ ।

विगतमा भदौको पहिलो हप्तामै स्याउ टिप्न सुरु गर्ने डोल्पाली कृषक यो वर्ष भने भदौको अन्तिम साताबाट मात्र स्याउ टिप्न सुरु गरेका छन् । हिमाली जिल्ला डोल्पामा फलेको स्याउ प्रतिकेजी १८ देखि ३० रुपियाँका दरले बिक्री गर्दा पनि स्याउ नबिक्ने स्याउ कृषक तथा त्रिपुरासुन्दरी नगरपालिका–४, रङ्ग गाउँका श्रीदल बुढाले बताउनुभयो । बुढाको फार्ममा लगाइएका २६० भन्दा बढी रmखमा स्याउ फलेको छ । 

रुकुम, जाजरकोट र सल्यानका व्यापारी नआएपछि नटिपुन्जेल फार्ममा र टिपिसकेपछि कोल्डस्टोरमै कुहिने गरेको छ ।