• ११ पुस २०८१, बिहिबार

नेप्से परिसूचक २१.१६ अङ्कले गिरावट

blog

काठमाडौं, भदौ २१ गते । पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा गिरावट आएको छ । सोमबार भएको कारोबारमा४.२९ अङ्क घटेर बन्द भएको नेप्से मङ्गलबार २१.१६ अङ्क घटेर १९५१.८४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अङ्क घटेको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीको ३२ लाख नौ हजार कित्ता शेयर एक अर्ब १९ करोड सात लाख ६५ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोबारमा भने सामान्य सुधार भएको छ । सोमबार ९० करोड ९९ लाखको मात्रै कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढ्दा बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको छ । बाँकी वित्त उपसमूहको परिसूचक २.१२ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक २.०५ प्रतिशतले घटेको छ ।

आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य करिव १० प्रतिशत बढेको छ । सानिमा माई हाइड्रोपावरको शेयर मूल्य ७.३२ प्रतिशत घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य ६ प्रतिशत घटेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको नौ करोड १४ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।