• २१ असार २०८१, शुक्रबार

सप्तरीका एक वृद्धमा डेङ्गु पुष्टि

blog

माला कर्ण
कल्याणपुर, भदौ २० गते ।
 सप्तरीको खडक नगरपालिका–८ मा डेङ्गुको बिरामी भेटिएका छन् । शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा ६० वर्षीय एक पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि भएका ती पुरुषको अवस्था गम्भीर रहेको र उहाँको आइसियुमा राखेर उपचार भइरहेको परिवारले जनाएको छ ।

डेङ्गु सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकाले वडा नम्बर ८ को सङ्क्रमित बस्ती ढोलबजारमा सोमबारबाट स्वास्थ्य परीक्षण गरी औषधि छर्किने कार्य सुरु गरेको छ ।

नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले आइतबार डेङ्गु पुष्टि भएको बारे नगरपालिकामा जानकारी आएको र नियन्त्रणका बारे आवश्यक छलफल भएको जानकारी दिनुभयो । साथै, सङ्क्रमित प्रभावित बस्तीमा स्वास्थ्य परीक्षण, ल्याब परीक्षण गरिने र औषधि छर्किन टोली पठाउने जानकारी उहाँले दिनुभयो ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगबाट बच्न झुल लगाएर सुत्न, घरवरिपरी पानी जम्मा भएका ठाउँ पुर्न र राति सुत्नेबेला शरीरभरि तेल लगाएर सुत्न नगरपालिकाले आग्रह गरेको छ ।